काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो ।
बैठकले सरकारको तर्फबाट किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णयसमेत गरेको छ । उद्योग र सरकारी अनुदान गरी अब किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । किसानहरूले भने उखुको खरिद मूल्य प्रतिक्विन्टल ७५० बनाउने पर्ने माग राख्दै आएका थिए ।
प्रवक्ता शर्माले सरकारको एक वर्षे अवधिको समीक्षा भएको र मुख्य सचिवबाट सरकारका कामलाई गति दिन देखिएका समस्या र सुधारको योजनासहित कार्य योजना प्रस्तुत गरेको जानकारी दिइन् ।