१२औं महाधिवेशनको बेला नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला एउटै गुटमा थिए । सभापतिमा सुशिल कोइरालालाई जिताउन दुवैले भूमिका खेलेका थिए ।
तर, १३औं महाधिवेशनसम्म आइपुग्दा संस्थापन पक्षमा विभाजन आयो । पौडेल र सिटौला दुई धु्रवमा पुगे ।
१३औं महाधिवेशनमा स्पष्टरूपमा कांग्रेसभित्र तीन वटा गुट (रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला) बन्यो । संस्थापन गुटमा भएको विभाजनको कारण देउवा स्वभाविकरूपमा केही बलिया बने ।
महाधिवेशनको पहिलो चरणको प्रतिस्पर्धामा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा देखिएको थियो । तर, दोस्रो चरणमा सिटौला बाहिरिए र अनौठो ढंगले देउवाको पक्षमा उभिए ।
सिटौला समूहको साथ पाएसँगै सभापतिमा ५२६ मतको अन्तरले देउवाले र पौडेललाई हराए । देउवाले १८२२ मत पाउँदा पौडेलले १२९६ मत ल्याएका थिए ।
चतुर देउवा दुवै विरोधी समूह (पौडेल र सिटौला)लाई लडाए, अनि आफू सभापतिमा सहज विजयी बने ।
१३औं महाधिवेशनको अभ्यास १४औं महाधिवेशनको चरणमा पनि देखियो । १४औं महाधिवेशन विगतका सबै गुटहरु भत्किए । देउवाले यसअघि आफ्नोविरुद्धमा देखिएका सबैलाई आफ्नो पक्षमा पारे ।
१४औं महाधिवेशनको रोचक विषय, देउवाले यसअघि आफ्ना मुख्य प्रतिस्पर्धी बनेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आफ्नो पक्षमा उभ्याए । कोइराला परिवारलाई विभाजित बनाइदिए भने अन्य दाबेदार प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइरालालाई पनि आफ्नो पक्षमा ल्याए ।
१३औं महाधिवेशनमा पौडेल पक्षले ४० प्रतिशत भाग खोजेको थियो तर, १४औं महाधिवेशनमा देउवाकै सहयोगी बन्यो । जसको प्रतिफल उनले फेरि जित हात पारे ।
यद्यपि, कांग्रेसमा नयाँ पुस्ताको उदय भने १४औं महाधिवेशनसँगै भयो । कोइराला परिवार विभाजित भएपनि नयाँ पुस्ताको नेतृत्व गर्दै डा. शेखर कोइराला अगाडि आए ।
१४औं महाधिवेशनमा देउवालाई कोइरालाले बलियो चुनौति दिएका थिए । देउवाले कुल मतमा ६० प्रतिशत (२७२४ मत) ल्याउँदा कोइरालाले ४० प्रतिशत (१८१७) मत ल्याएका थिए ।
यो उनको सफलता विरोधीलाई लडाउन र भिडाउन सक्नुको कारण हो ।
यद्यपि, महाधिवेशनपछिका समयमा देउवालाई नयाँ पुस्ताले बलियो गरी चुनौति भने दिइरहेको छ । प्रत्येक निर्णयमा उसले असहजता बनाइरहेको देखिन्छ ।
तर, देउवा त्यही नयाँ समूहभित्र पनि खेलिरहेका छन् । उनले एकपछि अर्को गर्दै नयाँ समूहलाई पनि विभाजित बनाउँदै आफूलाई सुरक्षित बनाइरहेका छन् ।
नयाँ समूहभित्र पनि खेल्दै देउवा
देउवाको स्पष्ट नीति छ– विरोधीलाई लडाउ र कमजोर बनाउ । अहिले देउवा नयाँ पुस्ताभित्र पनि सोही शैलीमा नै उनको प्रस्तुति छ ।
२०७९ पुस ७ मा भएको संसदीय दलको निर्वाचनमा देउवाले इतर समूहलाई नै विभाजित बनाइदिएका थिए । महाधिवेशन ४० प्रतिशत हिस्सामा देखिएको इतर समूह संसदीय दलको निर्वाचनमा २८ प्रतिशतमा खुम्चिएको थियो ।
तत्कालिन समय ८८ सांसदमध्ये देउवाले ६४ मत ल्याउँदा इतर पक्षबाट प्रतिस्पर्धी बनेका महामन्त्री गगन थापाले जम्मा २५ मत ल्याएका थिए । संसदीय दलको निर्वाचनमा उनले शेखर कोइरालालाई नै उनले आफ्नो पक्षमा उभ्याए । जसबारे कोइरालाले सार्वजनिकरूपमै तत्कालिन समय गल्ति भएको बताउने गरेका छन् ।
यद्यपि, त्यसपछिका श्रृखंलामा पनि देउवाले इतर समूहलाई लडाउने र कमजोर बनाउने भूमिका खेलिरहेका छन् । मन्त्री चयनको प्रक्रियामा पनि देउवाले इतर समूहलाई विभाजित बनाइदिएका थिए । महामन्त्री थापालाई नै थाहा नदिई कोइरालाले आफ्ना गोजिकालाई मन्त्रीमा नियुक्त गरेका थिए ।
देउवाकै भूमिकाको प्रभाव पछिल्लो चरणमा इतर समूहभित्र नेताहरुबीच विश्वासको वातावरण छैन ।
यद्यपि, गुन पनि तिर्छन् देउवा
१४औं महाधिवेशनमा देउवाले पौडेल र सिटौलाको मत जबरजस्त पाए । दुवैको मतलाई प्रयोग गर्दै सभापतिमा पनि जिते । यद्यपि, देउवाले दुवैलाई सम्मानपूर्वक गुन पनि तिरेका छन् ।
देउवाकै पहलमा रामचन्द्र पौडेल राष्ट्रपति बनेका हुन् भने अहिले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला उम्मेदवार बनेका छन् । सिटौलालाई राष्ट्रियसभाकै अध्यक्ष बनाउने तयारी देउवाको देखिन्छ ।
योबीचमा अन्य नेतालाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि उनले भूमिका खेलेका थिए ।
राजनीतिमै नदेखिएकी प्रकाशमानकी पत्नीलाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउनेदेखि शंशाक कोइराला र सुजता कोइरालाका निकटलाई नियुक्ती दिलाउनसम्म देउवाले भूमिका खेलेका छन् । कतिपय नियुक्तीमा उनले छलफल नै गरेर निर्णय लिएको देखिन्छ ।
पछिल्लो समय शंशाक कोइराला देश दौडाहा अभियानमा छन् । १४औं महाधिवशेनमा सहयोग गरेका शंशाकलाई उनले १५औं महाधिवेशनमा अगाडि सार्न खोजेको संकेतहरु देखिएका छन् ।
शशांकले पनि सार्वजनिकरुपमा देउवाले गुन तिर्ने बताएका छन् । जसलाई हेर्दा, एकपछि अर्को गर्दै नेताहरुलाई व्यवस्थापन गर्ने शैलीमा उनी देखिएका छन् ।