काठमाडौं । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा राजतन्त्रको अन्त्य गर्ने घोषणा गरेको थियो । पहिलो बैठकले तत्कालिन राजा र निजका परिवारका सदस्यलाई आम नेपाली नागरिकभन्दा भिन्नरूपमा प्राप्त भएको सम्पूर्ण अधिकार, सुविधा, हैसियत तथा उपाधि स्वतः अन्त्य हुने प्रस्ताव पारित गरेको थियो ।
बैठकले नारायणहिटी दरबार परिसर तथा यसभित्रका सम्पूर्ण सम्पत्तिलाई राष्ट्रियकरण गर्दै दरबारलाई ऐतिहासिक संग्रहालय बनाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको थियो । साथै, सोही बैठकले नै तत्कालिन राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबार छाड्न १५ दिनको म्याद पनि दिएको थियो ।
तर, नारायणहिटी दरबार छाड्न सरकारले गरेको निर्देशनमा पूर्वराजाले भने लामो समय आनाकानी गरिरहे । जसपश्चात दलहरुबीचकै सहमतिमा उनलाई नागार्जुन दरबारमा राख्ने निर्णय गरिएको थियो ।
सरकारको त्यो निर्णयपछि शाहले २०६५ जेठ २९ गतेको साँझ पत्रकार सम्मेलन गर्दै दरबारबाट बिदाई भएका थिए । बिदाई हुँदा निजी केही बाहेक उनले अन्य दरबारका सामाग्रीहरु सरकारलाई नै जिम्मा लगाएका थिए । जसमा राजदण्ड, श्रीपेचलगायत छन् । जुन अहिले सर्वसाधारणका लागि अवलोकन गर्ने वस्तु बनेको छ ।
दरबार छाडेको साढे १५ वर्षको यो अवधिमा पूर्वराजा शाहले पुनः फर्किने वा आफ्नो भूमिका खोज्ने गरी कहिँ कतै अभिव्यक्ति दिएनन् । पूर्वराजाको हैसियतले कहिलेकाहीँ सम्बोधन गर्ने गरेपनि उनले राजसंस्थाको भूमिका खोजेनन् ।
तर, पछिल्लो समय उनले आफ्नो भूमिका खोज्न थालेका छन् । पूर्वराजा शाहले सरकारलाई बुझाएको श्रीपेच, राजदण्ड र नारायणहिटीलाई सम्झिन थालेका छन् ।
“आफ्नो गरिमापूर्ण राजपाठबाट वियुक्त हुनुपर्दा मैंले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशिल हुने भावनालाई मैंले आज पनि सान्दर्भिकरूपमा सम्झिरहेको छु”, शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दनका क्रममा उनले भनेका छन्, “मैंले चिरकाल पर्यत्न सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ ।”
ज्ञानेन्द्र शाह नेपालका अन्तिम शाहवंशीय राजा हुन् । परिस्थितिबस उनी दुई पटक नेपालका राजा भएका थिए ।
२००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए भने पछि १९ जेठ २०५८ मा राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः राजा भए ।
तर, २०६२/०६३ को जनआन्दोलनपछि पुनस्थार्पित संसदले उनका अधिकार खोसेको थियो । पहिलो संविधानसभाको पहिलो बैठकले ‘श्री ५’ पदवी खोस्दै उनलाई पूर्णरूपमा सामान्य नागरिकको हैसियतमा झारिदिएको थियो ।
‘दाग’ पुछ्ने प्रयास
२०५८ जेठ १९ गतेको राति नारायणहिटी दरबारभित्र विभत्स हत्याकाण्ड घट्यो । जसमा तत्कालिन राजा विरेन्द्र शाहको वंश नाश गरियो ।
तर, उक्त वंशनाशको घटनामा सँगै रहेका ज्ञानेन्द्र शाहको परिवारका कुनै पनि सदस्यलाई भने केही पनि भएन । जुन घटनापछि स्वयम् उनी राजा बने ।
उक्त घटना रहस्यमै रहेपनि विशेषगरी उक्त घटनामा पूर्ण सुरक्षित ज्ञानेन्द्र शाहमाथि प्रश्न उठ्ने गरेको छ । घटनालाई जोडेर उनीमाथि आरोप लाग्ने गरेको छ ।
वीरगञ्जमा शनिबार भएको नागरिक अभिनन्दन कार्यक्रमका बीच उनले पहिलो पटक जुन घटनामाथि आरोप मेट्ने प्रयास गरेका छन् । साथै, आफ्नो भावनामाथि राजनीति गरिएको पनि आरोप शाहले लगाएका छन् ।
‘जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको छ” शाहले भनेका छन्, “हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि भएका छन्, सत्य सधैँ सत्य हुन्छ, असत्यको विजयी कहिले हुँदैन ।”
राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको हत्याकाण्डबारे छानबिन गर्न तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय अध्यक्ष र सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति बनाइएको थियो । छानबिन समितिले बनाएको प्रतिवेदनमा तत्कालिन युवराजधिराज दीपेन्द्र शाहले हत्या गरेको उल्लेख छ ।
तर, उक्त प्रतिवेदनमाथि प्रश्न देखिन्छ । नशाको सुरमा अन्धाधुन्ध गोलि चलाइ हत्याकाण्ड मच्चाएका शाहले आफ्ना परिवारका सदस्यलाई मात्रै छानिछानि किन मारे, आफूमाथि कसरी गोलि हाने ?
यद्यपि, यसबारे अर्को छानबिन हुन सकेको छैन । गणतन्त्रप्राप्तिको १५ वर्षको बीचमा दरबार हत्याकाण्डबारे पटक–पटक छानबिनको विषय उठेपनि सरकारले तदारुकता भने देखाएको छैन ।
जसकारण उस्तै प्रकृतिको प्रश्न उठिरहेको देखिन्छ । जसको दाग पुछ्ने शैलीमा पहिलो पटक पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिकरूपमा अभिव्यक्ति दिएका छन् ।