राजसंस्थाकाे पक्षमा उभिँदा फेरि एक्लो परे दुर्गा प्रसाइँ-Sutra News

राजसंस्थाकाे पक्षमा उभिँदा फेरि एक्लो परे दुर्गा प्रसाइँ

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

काठमाडौं । व्यवस्था बदल्न निर्णायक आन्दोलन भन्दै गत मंसिर ७ मा दुर्गा प्रसाइँ केन्द्रीय राजधानी काठमाडौं आए । प्रसाइँले आफ्नो अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजसंस्थावादीहरुको सहयोग समर्थन पाउने आशा राखेका थिए ।



तर, प्रसाइँ काठमाडौं ओर्लिदाँ एकातिर पूर्वराजा शाह झापा झरे भने राजसंस्था पक्षधर विभाजित भने । स्वयम् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिकरुपमै प्रसाइँको अभियान ‘ठगहरुको अभियान’ भन्दै विरोध जनाए ।

राजसंस्थाको पक्षमा प्रसाइँले छेडेको अभियान राजसंस्थावादीहरुको सहयोग नपाउँदा तुहियो ।

अहिले फेरि प्रसाइँ सडकमा ओर्लिएका छन् । प्रसाइँले आफ्नो अभियानलाई व्यवस्था बदल्ने निर्णायक आन्दोलनको रुपमा अथ्र्याएका छन् ।

तर, फेरि प्रसाइँको अभियान अलपत्र पर्ने देखिएको छ । अहिले पनि पूर्वराजा प्रसाइँको अभियानलाई छल्न चितवन झरेका छन् भने मूल राप्रपाले संस्थागतरुपमा सहयोग गर्ने निर्णय गरेन । अन्य राजसंस्थावादी संघ संगठनहरु पनि प्रसाइँको अभियानलाई सघाउन खुलेनन् ।

प्रसाइँले पूर्वराजाकै हातबाट दियो बाल्दै अभियानको सुरुवात गर्ने तयारी गरेका थिए । जसका निम्ति उनले पूर्वराजालाई भेटेरै निमन्त्रणा पनि दिएका थिए ।

यता, राप्रपा अध्यक्ष लिङ्देनसहितका नेतालाई पनि भेटेरै सहकार्यको प्रस्ताव राखेका थिए । लिङ्देनलाई भेटेपछि प्रसाइँले सहकार्यको ढोका खुलेको बताएका थिए ।

तर, प्रसाइँको अभियानलाई सहयोग गर्ने पक्षमा न पूर्वराजा खुले न त मूल राप्रपा । अहिले फेरि प्रसाइँको अभियान तुहिने अवस्थामा पुगेको छ ।

राजनीतिक विश्लेषक प्रसाइँको अभियानले सार्थकता पाउने अवस्था नरहेको टिप्पणी गर्दछन् । राजसंस्था पक्षधरमै विश्वास बनिसकेको विश्लेषकहरुको टिप्पणी छ ।

“बाहिर चर्चा जे गरेपनि अवस्था तयार भइनसकेको भन्ने बुझाई पूर्वराजासहित मुख्य राजसंस्थावादीमा देखिन्छ, भाँडो नताती बिँड तात्नुको कुनै तुक छैन”, राजनीतिक विश्लेषक मुकुन्द आचार्य भन्छन्, “अहिलेको परिस्थिति राजसंस्था फर्काहाल्ने अवस्था छैन, निर्णायक आन्दोलनमा गइहाल्ने छैन भन्ने बुझेर पूर्वराजा र मुख्य राजसंस्थावादी नतातेका हुन् । प्रसाइँको एक्लो प्रयास निअर्थक छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट