राजनीतिमा नयाँ उथलपुथलको संकेत : फेरि वामशक्ति एक हुँदै-Sutra News

राजनीतिमा नयाँ उथलपुथलको संकेत : फेरि वामशक्ति एक हुँदै

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

राष्ट्रिय राजनीतिमा फेरि नयाँ उथलपुथलको संकेत देखिएको छ । फेरि सत्ता राजनीतिमा नयाँ कोर्ष सुरू हुँदै गरेको संकेत पनि देखिएका छन् ।



सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसको महासमिति बैठक हालै सम्पन्न भयो । यसपटकको महासमिति बैठक यसअघिका जस्तो रहेन । महासमिति बैठकमा आगामी पार्टी नेतृत्व कसले लिने भन्ने जसरी लडाइँ चल्यो । विशेषगरी बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच पेचिलो लडाइँ देखियो ।

बैठक सभापति देउवा अनुकुल बनेन । बैठकले पार्टीभित्र महामन्त्री थापाको पक्षमा जबरजस्त शक्ति सिर्जना भइरहेको देखाएको छ । एकातिर महामन्त्रीका प्रस्तावहरू पारित भए भने अर्कोतिर पार्टीभित्र हिन्दुवादी शक्ति पनि जबरजस्त रूपमा अगाडि आयो ।

यसले समग्र राजनीतिलाई केही सन्देश दिएको छ । अब कांग्रेस देउवाको मात्रै निर्णयले चल्ने अवस्थामा छैन । कांग्रेसले अब कुनै चुनावमा कसैलाई बोकेर हिँड्दैन । कांग्रेस अब धर्मनिरपेक्षताको पक्षमा छैन ।

यसले वाम राजनीतिमा रहेका दलहरूलाई ठूलो झस्को दिएको छ । विशेषगरी सत्तागठबन्धनमा तरंग सिर्जना गराएको छ । सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रमा ठूलो उथलपुथल ल्याइदिएको छ ।

प्रतिपक्षमा रहेको एमालेलाई पनि केही कुराले झस्काएको देखिन्छ ।

यो बैठकले दिएको सन्देशलाई केलाउँदा, अब मुलुकमा अर्को राजनीतिक धुव्रीकरणको जबरजस्त माहोल सिर्जना भएको छ । अब वामपन्थीहरू एक ठाउँमा उभिने र दक्षिणपन्थीहरू एक ठाउँमा उभिने अवस्था बनेको देखिन्छ ।

यद्यपि, राजनीति यसरी नै अगाडि बढ्छ भनेर भन्न सकिन्छ । तथापि, कांग्रेसको महासमिति बैठकसँगै वामधारका दलहरूबीच हुन थालेको भेटवार्ताले भने सोही संकेत गरेको प्रष्ट्याउँछ ।

अहिले नेपालको राजनीतिमा बाम धारका दलहरू एक ठाउँमा आउँदा सत्ताकै नेतृत्व लिने तहमा पुग्ने र दक्षिणपन्थीहरू पनि एक ठाउँमा आउँदा बलियो हुने देखिन्छ । विभाजित जनमतलाई केलाउँदा वाम पक्षधर र दक्षिणपन्थी करिब–करिब आधा–आधाकै हाराहारी देखिन्छन् ।

यद्यपि, पछिल्लो समय उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जबरजस्त माहोल छ । यसले पनि राजनीतिमा ठूलो प्रभाव पार्ने देखिन्छ । रास्वपा दक्षिणपन्थी विचारधारासँग सहमत पार्टी हो । केही–केही कुरा स्पष्ट नभएपनि उसले दक्षिणपन्थीकै बीचमा हुने सहकार्यलाई सहज मान्दछ ।

चुनावी मुखमा दक्षिणपन्थीहरू एक ठाउँमा आएको खण्डमा २०७४ मा जसरी कांग्रेस २३ सिटमा झरेको थियो, त्यस्तै २०८४ को निर्वाचनमा पनि वामपन्थीहरूको हालत हुने आंकलन गरिएको छ । यो परिस्थितिमा अब क्रमशः राजनीतिमा ठूलो धुव्रिकरण हुँदैछ भन्ने देखिन्छ । अब संसदवादी वामपन्थी एक ठाउँमा, दक्षिणपन्थी एक ठाउँमा र सानो संख्यामा रहेका राजवादी एक ठाउँमा हुने परिस्थिति बन्दैछ ।

पछिल्ला छलफल तथा बहसहरूलाई हेर्दा, छिट्टै त्यो दिशातर्फ राजनीति अघि बढ्दैछ भन्ने देखिन्छ । २०८४ पछिको राजनीतिक के होला ? अहिले नै निर्क्याैल गर्न त सकिन्न, यद्यपि ठूलो उथलपुथलपछि २०८४ को चुनाव आउने कुरामा भने अन्योल छैन । यसमा आन्तरिक र बाह्य दुवै कारणहरू भने जोडिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट