काठमाडौं । शुक्रबारबाट हलमा दुई वटा फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ प्रदर्शनमा आएका छन् । घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ र नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ले सुरुवातमा उत्साहजनक शो पाएको देखिए पनि अकुपेन्सीमा भने उत्साहजनक साथ पाउन सकेका छैनन् ।
यी दुवै फिल्मले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको दाबी निर्माण पक्षको छ । तर, आइतबारबाट ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’को वास्तविक परीक्षा सुरु भएको छ । बिदाको दिन बाहेक जुन फिल्मले अन्य दिनमा दर्शक तान्न सक्छ, त्यसैको आगामी यात्रा दिगो हुने बुझिँदै आएको छ ।
फिल्म ‘गाउँ आएको बाटो’ले विशेषगरी मोफसलका केही सहरमा शुक्रबार र शनिबार राम्रो कमाई गरेको देखिन्छ । हुन पनि यसका निर्देशक नवीन सुब्बाको नाम नै फिल्मका लागि आफैंमा ब्राण्ड छ । उनको नामैले पनि हलमा दर्शक तानेको पाइन्छ ।
फिल्मले राईको कथा उठाएको छ र पूर्वमा त्यही समुदायको घनत्व छ । यिनै कारणले पूर्वमा फिल्मको व्यापार अपेक्षाकृत देखिन्छ ।
‘गाउँ आएको बाटो’लाई तेस्रो दिन आइतबार देशभर एक सय आठ शो उपलब्ध भएको थियो । त्यस्तै, पूर्वका दमक, बिर्तामोड, इटहरीका हलमा फिल्मको व्यापार सुखद रहेको थियो ।
तर, काठमाडौं उपत्यकाका हलमा भने फिल्मप्रति दर्शकको खास ‘क्रेज’ देखिएन ।
यता, ‘लन्डन टु पेरिस’को शुक्रबारभन्दा शनिबार व्यापार सुधारोन्मुख देखिए पनि आइतबारबाट ओरालो लाग्दो अवस्थामा देखिन्छ । दर्शक घटेसँगै आइतबार देशभरका हलमा जम्मा ३८ शो लागेको थियो ।
यद्यपि, सिंगल थिएटरका हिसाब यसमा समेटिएका छैनन् ।
उसो त, यी दुवै फिल्मलाई हलमा लामो रेसको घोडा बन्न सशक्त ‘वर्ड अफ माउथ’को आवश्यकता परेको छ । अर्थात् अब कन्टेन्ट बोल्नुपर्ने भएको छ ।
तर, कन्टेन्टका सन्दर्भमा दुवै फिल्मबारे दर्शकबाट मिश्रित प्रतिक्रिया प्राप्त भएकाले व्यापारमा उछाल कायम गर्न चुनौतीपूर्ण देखिन्छ । हलका रिपोर्टले पनि स्टार कलाकारले भरिएको दुवै फिल्मले बक्स अफिसमा आफूलाई चलायमान गराउन गाह्रो हुन थालेको अड्कलबाजी धेरैले गर्न थालेका छन् ।
यद्यपि, दुवै फिल्मका निर्माताहरु व्यापार बढ्नेमा आशावादी देखिन्छन् ।
तर, निर्माता आशावादी देखिए पनि दुवै फिल्मप्रति दर्शकको आकर्षण निकै घटिरहेको छ । सोमबारको अनलाइन टिकट बुकिङ्गलाई आधार मानेर हेर्ने हो भने अधिकांश हलमा दुवै फिल्म हेर्ने दर्शक असाध्यै न्यून छन् ।
सोमबारको अपरान्हसम्मको रिपोर्ट हेर्दा, दुवै फिल्मका लागि औंलामा गणना गर्न सक्ने टिकट बुकिङ्ग भएको छ । यी दुवै फिल्मका लागि अपेक्षाकृत दर्शक नआउँदा, दर्शक कसरी हलसम्म तान्ने भन्ने चुनौती बढेको देखिन्छ ।
दर्शक अभावका कारण भोलिका दिनमा हलहरुले चाँडै नै फिल्म उतारिदिने त होइन प्रश्न उब्जेको छ ।