नेपालमा मोदीको तेस्रो कार्यकालको चर्चा छ । तेस्रो कार्यकालमा मोदीले कस्तो नीति लिन्छन् र नेपालमा यसको प्रभाव कस्तो पर्ला भन्ने त्रास छ । यो आन्तरिक राजनीति बलियो नभएको प्रमाण हो । पुराना राजनीतिक दल सत्ताको खेलमा झेलमै व्यस्त छन् । वैकल्पिक शक्ति त्यसको अभिन्न अङ्ग बनिरहेका छन् ।
यस्तो परिस्थितिको कारण, परिणाम र सम्भावनामा केन्द्रित रहेर सूत्र न्यूजका लागि सरोज कोइरालाले नागरिक शक्ति नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीसँग कुराकानी गरेका छन् । त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अंश :
भारतीय निर्वाचनपछि अब नेपालको राजनीतिमा मोदीको ठूलो प्रभाव पर्छ भन्नेहरू छन् । मोदीको दुई कार्यकालमा नभएको विशेष प्रभाव तेस्रो कार्यकालमा के पर्ला ? अनि मोदीले चाहदैमा नेपालमा सबथोक होला ?
भारत र मोदी सरकार नेपालमा हिन्दु राज्य पुनर्स्थापना गर्न चाहन्छ भन्ने बुझाइ छ । अनि हाम्रो संविधानप्रति उसको असन्तुष्टिको कारण पनि यही हो भन्ने छ । तर, त्यस्तो होइन । दूरगामी महत्वका सन्धि सम्झौता गर्दा संसद्को दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने प्रावधान पनि हाम्रो संविधानमा छ । यस्तो खालको सन्धिलाई कुनै पनि अन्तराष्ट्रिय शक्तिले मन पराउँदैन ।
प्रत्यक्ष निर्वाचित कार्यकारीको जो एजेण्डा छ, यो अन्तराष्ट्रिय शक्तिको इच्छाअनुसार नेपालमा प्रवेश गरेको हो । किनभने एउटा व्यक्तिलाई त्रासमा राखेर, दबाबमा राखेर, काउन्सिलिङ गरेर धेरै ठूला–ठूला सम्झौता गराउन सकिन्छ । त्यसैले भारतलाई पनि सन्धि सम्झौता सम्बन्धी त्यो प्रावधान मन परेको छैन ।
अनि हिन्दु राष्ट्रभन्दा आफ्नो राष्ट्रिय हितका एजेण्डाहरू भारतको प्राथमिकतामा छ । नेपाललाई सम्पूर्ण रुपमा आफ्नो विश्वासमा लिन सक्नु उसको मुख्य एजेण्डा हो । विगतमा देउवा र प्रचण्ड सरकारसँग भारतले गरेको सम्झौता र संयुक्त वक्तव्य हेरियो भने नेपालमा भारतको स्वार्थ के हो भन्ने बुझिन्छ । नेपाल भारतको एकलौटी बजारका रुपमा रहनुपर्छ भन्ने उसको चाहना छ ।
अर्को चाहिँ, नेपाली सेनासँग भइरहेका द्विपक्षीय सहकार्य र संवादलाई दुबै पक्षले अझै निरन्तरता दिने भन्या छ, त्यसको अर्थ के हो ? नेपाल भारत संयुक्त वक्तव्यमा आएको कुरा हो यो । भारत र नेपाल अन्तराष्ट्रिय मञ्चहरूमा समान धारणाका साथ प्रस्तुत हुनेछन् भन्ने बुँदा पनि छ । उसको अर्थ त अन्तराष्ट्रिय मञ्चहरूमा हामीसँग विमति नराख भन्न खोज्या हो नि । देउवा, प्रचण्डले यसमा सही धस्काएका छन् । तर, केपी ओलीले भने यो मान्नुभएन ।
अनि अर्को गम्भीर कुरा त के छ भने, संयुक्त राष्ट्रसंघको अस्थायी सुरक्षा परिषद्को चुनावमा भारतलाई मत दिने भनेर लेख्या छ । सुरक्षा परिषदमा हामीले दिने एक मतका लागि जर्मनी र जापान जस्ता देशले हामीलाई ठूलो अनुदान दिन्छन् । भारतको स्वार्थमा हामीले ति देशको सहयोग गुमाउँदैछौँ । भनेपछि हिन्दु राष्ट्र मात्र होइन उसको चासो, धेरै मुद्दामा छ । उसले हामीलाई प्रभाव र दबाबमा राखेकै छ । यो आगामी दिनमा पनि कायम रहन्छ ।
जसरी हामी छिमेकीबाट सुरक्षित अनुभव गर्न सकिरहेका छैनौ, यसको कारण पात्र गलत भएर हो कि प्रवृत्ति नै गलत भएर हो ?
आजभन्दा डेढ सय वर्ष अगाडि चन्द्र शमशेरले एउटा चिन्ता गरेका थिए, नेपालीहरू विदेशिने क्रम बढ्यो, युवाहरूलाई स्वदेशमै राख्ने कसरी भनेर । अहिले हामी त्योभन्दा धेरै चिन्ता गर्नुपर्ने अवस्थामा छौँ । नेपालीहरूको लाहुरे संस्कृति छ । यो भनेको विदेशिने, बाहिर गएर कमाउने र यहाँ आएर रमाउन खोज्ने । अर्काको लागि लडिदिने, अर्काको लागि भेडा पनि चराइदिने, अर्काको लागि भाडा पनि माझिदिने तर आफ्नै देशमा चाहिँ केही पनि गर्न नखोज्ने भनेको लाहुरे संस्कृति हो । नेपाल लाहुरे संस्कृतिको प्रकोपमा परेको छ । यसको प्रभाव राजनीतिक तहमा पनि छ ।
कुनै नेता विदेश जान्छ, तर ओहो यो देश जस्तै बनाउँछु भनेर फर्किँदैन, आएर उता राम्रो छ भनेर आफ्ना सन्तानलाई उतै सेटल गर्ने व्यवस्था मिलाउँछ । कर्मचारीको पनि उही पारा छ । देशका अगुवाहरूले नै देशको बारेमा नभएर विदेशको बारेमा सोच्ने संस्कृति बसिसकेको छ । त्यसैले मानिसहरू लाहुर गएर बनेको देश कुनै पनि छैन । यसैले हामीले राम्रो नीति राम्रो ल्याउनुपर्छ । नीति र व्यवहारमा भएका त्रुटिलाई सच्याउनुपर्छ ।
यो काम गर्न अहिलेका राजनीतिक दलले नै गर्न सक्छन् कि, नयाँ शक्तिको खाँचो छ ?
संसद्मा भएका दल देश बनाउन आएको भनेर भनेको सुन्नुभएको छ ? कांग्रेस र कम्युनिष्ट प्रजातन्त्र र साम्यवाद ल्याउन गठन भएका हुन्, नेपाल बनाउन होइन । हामी भ्रममा पर्न हुँदैन, प्रजातन्त्र आएपछि कांग्रेसको औचित्य सिद्धियो, कम्युनिष्ट सरकारमा गयो, उसलाई साम्यवाद आयो ।
देशै बनाउँछु भनेर त पार्टी गठन भएका छैनन् । भएका पनि शक्तिमा रूपान्तरण भएका छैनन् । यसमा फेरि खहरे जस्तो बनेर केही केटाकेटीहरूले खेल्न खोजेका छन्, यसलाई विकल्पका रुपमा बुझ्नु चाहिँ गलत हो ।
रास्वपालगायत केही नयाँ शक्ति उदाएका छन् । के यी वैकल्पिक शक्ति होइनन् ?
कहाँबाट वैकल्पिक शक्ति हुन्छ ? वैकल्पिक भन्या के ? वैकल्पिक भन्या चाहिँ अहिलेसम्म पुराना राजनीतिक दलमा जुन रोग देखापरेको छ, त्यो रोग नलागेको शक्ति हुनुपर्यो । सत्ताका लागि जुनसुकै सीमा पनि नाघेर जाने, जुनसुकै अपराध पनि गर्न तयार हुने, सत्ताको जस्तोसुकै अवसर छोपिहाल्ने, नयाँ भनिएको पार्टीमा के फरक छ र ? अनि उसको लक्ष्य के छ ? उसको गन्तव्य के छ ? दलका नेताहरूलाई गाली गर्ने न हो । नेपाल अहिले मनोरञ्जनात्मक राजनीतिक युगमा प्रवेश गरेको छ । एकछिन रमाइलोका लागि नेताको भाषण सुन्ने अवस्था छ । विभिन्न आकार प्रकारका मान्छे राजनीतिमा छन् । यी सबै मनोरञ्जनका लागि हुन् । कसले कसलाई गाली गर्यो, कसले कसलाई कसरी भन्यो ? भनेर मनोरञ्जन लिन सकिने अवस्था छ । अरुलाई गाली गरेर आफूलाई ठिक भन्नु कहिले पनि ठिक होइन । चटक गरेर वैकल्पिक शक्ति बन्न सकिन्न ।
वैकल्पिक शक्तिका लागि त नेपालको राजनीतिक मैदान मलिलो देखिएको छ, तर किन फस्टाएनन् त ?
नेपालमा अहिले वैकल्पिक शक्ति पैदा हुन खोजेको छ, तर विदेशी शक्तिहरूले रोकेका छन् । किनभने विदेशी शक्तिको भूमिका बलियो हुन नेपालमा राष्ट्रिय शक्ति कमजोर हुनुपर्छ । देशभक्त शक्ति, निष्ठावान शक्ति नेपालमा माथि उठ्यो भने त विदेशी शक्तिलाई उनीहरूको स्वार्थअनुसार टेर्दै टेर्दैनन् । अनि यस्तो शक्तिलाई किन उनीहरूले माथि उठ्न दिन्थे ? त्यसैले नेपालमा वैकल्पिक शक्तिका लागि आधार चाहिँ बनेको छ, तर सतहमा आइसकेको छैन ।
सामाजिक सञ्जाल हेर्नुभएको छैन ? अबको विकल्प बालेन हुन् भन्ने मनोविज्ञान त्यहाँ देखिन्छ त ?
म उहाँलाई व्यक्तिगत रुपमा चिन्दिन, उहाँको व्यवहार र गतिविधि हेर्ने हो । उहाँ स्थानीय तहका लागि, महानगरको मेयर पदका लागि ठिक मान्छे हो । उहाँले प्रदर्शन गरिरहनुभएको व्यवहार महानगरका लागि ठिक छ । मेयरका रुपमा उहाँले गर्न खोजेका केही काम असाध्यै राम्रा छन् । तर यस्तो सन्की, अराजक र एकलकाँटे व्यवहारले राष्ट्रिय राजनीति सम्भव छैन । मानिसहरूसँग नबोल्ने, जनताका बीचमा नजाने, सार्वजनिकरूपमा नदेखिने मानिस नेता बन्न सक्दैन ।
त्यसो भए यो देश बन्दैन ? बनाउने कोही छैन ?
जगतको एउटा विशेषता के हो भने यो परिवर्तनशील छ । त्यसैले राजनीतिक अस्थिरता स्थायी हुँदैन । यसपछि आउने भनेको सुदिन नै हो । अब शुभारम्भको समय हो । यिनै विकृतिले स्वीकृति जन्माउँछ । विकृतिको गर्भबाट संस्कृति जन्मन्छ । धैर्य गरौँ ।
पूर्ण संवाद भिडियोमा हेर्नुहोस्