महत्वाकांक्षाकाे जाँतोमा पिसिएको बाबुरामकाे वैकल्पिक शक्ति-Sutra News

महत्वाकांक्षाकाे जाँतोमा पिसिएको बाबुरामकाे वैकल्पिक शक्ति

बिहिबार, ३१ जेष्ठ २०८१

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडौं । दोस्रो संविधानसभामा डा. बाबुराम भट्टराई संवैधानिक समितिको सभापतिको भूमिकामा थिए । संविधान निर्माणको क्रममा भट्टराईको नेतृत्वदायी भूमिका रह्यो ।



तर, संविधान निर्माणमै नेतृत्वदायी भूमिका खेलेका भट्टराईले संविधान जारी हुँदै गर्दा भने संविधानप्रति सबैभन्दा बढी असन्तुष्टि पोखे । आफैं सभापति बनेर जारी भएको संविधानलाई ‘अपूर्ण’ भन्ने अभिव्यक्ति दिए ।

सँगै, आश्चर्यमा पार्ने गरी उनले संविधान जारी लगत्तै माओवादी पार्टी पनि परित्याग गरे ।

तत्कालीन समय एकातिर भट्टराईले फेरि अर्को संविधान निर्माण आवश्यक छ भन्ने शैलीमा अभिव्यक्ति दिएका थिए भने अर्कोतिर लामो समयदेखि आफैं नेतृत्व पंक्तिमा रहेको पार्टी माओवादीलाई ‘रातो स्टिकर’ (बस्न अयोग्य) भएको भन्दै परित्याग गरेका थिए । संविधान जारी भएको छ दिनपछि २०७२ असोज ९ गते उनले पार्टी परित्याग गर्ने निर्णय लिएका थिए ।

माओवादी परित्याग गरेको आठ महिनापछि २०७३ जेठ ३० मा भट्टराई नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा भएको थियो । निकै ठूलो तामझामसहित दशरथ रंगशालाबाट भट्टराईले नयाँ शक्ति पार्टीको घोषणा गराएका थिए ।

हुन पनि एकातिर आफैंमा पूर्वप्रधानमन्त्री भइसकेका पात्रले गरेको पार्टी घोषणा र समाजका चर्चित अनुहारहरुको गठजोड सामान्य थिएन । स्वदेश र विदेशका पाहुनाको लर्को पनि असामान्य नै थियो ।

तर, ठूलो तामझामसहित घोषणा गरिए पनि भट्टराई नेतृत्वको नयाँ शक्ति उठ्न भने सकेन । गठनको एक वर्षमै पार्टी विघटन उन्मुख बन्यो ।

छोटो समयमै कमजोर बनेका भट्टराईले एमाले–माओवादी केन्द्रबीचको सहकार्यभित्र आफूलाई पार्न निकै प्रर्यत्न गरे । यद्यपि, एमाले–माओवादीका नेतृत्व पंक्ति उनलाई समेट्न तयार भएनन् ।

तत्कालीन समय एकातिर नयाँ शक्ति राजनीतिक परिस्थितिले किचियो भने अर्कोतिर भट्टराई स्वयम् अन्योलमा फसे । नयाँ शक्ति गठनको छोटो समयमै भट्टराई स्वयम्ले विकल्प खोज्दा पार्टी विघटनको दिशामा पुगेको देखिन्छ ।

चरम सकसमा परेपछि भट्टराईले २०७६ वैशाखमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गर्ने निर्णय लिएका थिए । संघीय समाजवादी फोरमसँगको एकता भट्टराईका निम्ति अन्तिम विकल्प जस्ताे देखिएकाे थियाे ।

यद्यपि, उपेन्द्रसँगको सहकार्य पनि भट्टराईका निम्ति अपेक्षित भएन । पार्टी एकतामा नयाँ विकल्प देखेका भट्टराई अन्तरसंघर्षमै किचिए ।

पछि महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गर्दै जनता समाजवादी पार्टी (जसपा) गठनपछि नेतृत्व तहमा झनै अन्तरसंघर्ष चर्कियो । विवाद चलिरहेकै बखत संसद विघटन भएपछि जसपाभित्र थप विवाद बढ्यो ।

२०७७ वैशाख १० मा जोडिएका ठाकुर एक वर्षमै २०७८ भदौमा जसपाबाट अलग भएका थिए ।

ठाकुर बाहिरिए पनि जसपाभित्र अन्तरसंघर्ष रोकिएन । ‘क्षेत्रीयतावादी सोचबाट माथि नउठेको’ आरोप लगाउँदै भट्टराई पनि २०७९ असार २८ मा जसपाबाट अलग्गिए ।

यद्यपि, यादवसँगको तीन वर्षसम्मको सहकार्य भट्टराईका निम्ति प्रतिफलमूलक बनेको देखिएन । यादवसँग सहकार्य गर्दा भट्टराई जति बलिया थिए, निस्कँदा त्यति नै कमजोर बनिसकेका थिए ।

यादवसँग छुट्टिएका भट्टराईले २०७९ साउन २१ मा नेपाल समाजवादी पार्टी (नेसपा) स्थापना गरेका थिए ।

अहिले नेसपा स्थापना भएको पनि दुई वर्ष पुग्दै छ । यद्यपि, यो दुई वर्षकै बीचमा नेसपाभित्र ठूलो उथलपुथलको अवस्था बनेको छ । अहिले नेसपाभित्र चरम विवाद र विभाजनको अवस्था छ ।

पार्टी गठनको बेला सघाएका महेन्द्र राय यादव र गंगानारायण श्रेष्ठलगायतका नेताहरूसँग भट्टराईको अघोषित सम्बन्ध विच्छेदको अवस्था छ । चैत ३ मा यादव पक्षले एक्लै माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने निर्णय लिएको थियो ।

त्यसयता भट्टराई फेरि एक्लिएका छन् । एक्लिएका भट्टराई फेरि ‘वैकल्पिक शक्ति’ निर्माण भन्दै अभियानमा जुटेका छन् । उनले नयाँ भनिएका पार्टीहरूबीच छलफल र बहस गर्ने प्रर्यत्न गरेका छन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर भट्टराईले बुधबार प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा कार्यक्रम गरेका छन् । जहाँ उनले केही राजनीतिक समीक्षकसहित नयाँ भनिएका केही पार्टीका नेताहरूलाई बोलाएका थिए ।

कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टराईले नहिच्किचाएर नयाँ दलहरूलाई खुलेरै ‘मिलौं’ भन्ने प्रस्ताव पनि राखे । सँगै उनले दलहरूलाई आश्वस्त पार्न आफू ‘वीपी कोइरालाको समर्थक’ अर्थात् प्रजातन्त्रवादी भनेर स्पष्ट पार्ने कोसिस पनि गरे ।

“कांग्रेसका साथीहरूलाई म धन्यवाद दिन चाहन्छु, म त्यसैको उपज हो, म पनि वीपी कोइरालाको समर्थक थिएँ, कांग्रेसले राजालाई मान्न थालेपछि मैले छोडेको हो, पछि कम्युनिष्ट पार्टीमा लागेकै हो”, भट्टराईले भनेका थिए, “त्यहाँ किन लागेँ भने कमसेकम राजतन्त्र अन्त्य गर्ने, सामन्तवाद अन्त्य गर्ने कुरा गर्दथ्यो, त्यसैले म लागेँ, जब त्यो कुरा भयो, त्यसपछि मैले छोडेँ, कुरा सिधा यही हो नि ।”

४३ वर्षे राजनीतिक यात्रामा लामो समय कम्युनिष्ट संगठनभित्र रहेका भट्टराईलाई कम्युनिष्ट इतरका शक्तिसँग सहकार्य गर्न सहज छैन । रवि लामिछानेदेखि सिके राउतसम्मलाई आश्वस्त पार्न उनले कित्ता प्रष्ट पार्ने कोसिस गरेको बुझिन्छ ।

यद्यपि, उनको अस्थिर राजनीतिक चरित्रबाट अन्य दलका नेतृत्व पंक्ति आश्वस्त भएको भने देखिन्न । भट्टराईकै मञ्चलाई प्रयोग गरी अन्य नेताहरुले भट्टराईप्रति नै व्यंग्य प्रहार गरेका थिए ।

गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले भट्टराईलाई घुमाउरो शैलीमा ‘पढाउन तिर लाग्नुहोस्’ भन्ने सुझाव दिएका छन् ।

भट्टराईको मञ्चलाई प्रयोग गरी राजनीतिक विश्लेषकको परिचय बनाएका खगेन्द्र संग्रौलाले पनि भट्टराईकै शैलीमाथि प्रश्न गरेका थिए । उनले भट्टराईमाथि ‘न शैली छ, न संस्कार छ’ भन्ने टिप्पणी गरेका थिए ।

“बाबुरामको इतिहास भनेको बन्ने र भत्काउनेमा सीमित भएको छ, यसमा गम्भीर समीक्षा हुनुपर्छ, नेपाली समाजमा राजनीति गर्ने बाबुरामको न मनोवृत्ति छ, न स्वभाव छ, न शैली छ न संस्कार छ”, भट्टराईको मञ्चमा आलोचनात्मक शैलीमा संग्रौलाले भनेका छन्, “आफ्नो रोजाइले र इतिहासको कागतालीले गलत ठाउँमा परेको पात्र भएका छन् ।”

बाबुरामकाे यात्राले दिएकाे सन्देश

राजनीतिक विश्लेषक मुकुन्द आचार्य चरम महत्वाकांक्षा पाल्दा भट्टराईले आफ्नै राजनीति सकाएको टिप्पणी गर्दछन् । आचार्यका अनुसार भट्टराईमाथि विश्वासका गर्ने अवस्था छैन र भट्टराईले नयाँ विकल्प दिने अवस्था पनि छैन ।

“एक दशकको यात्रालाई हेर्ने हो भने भट्टराईले आफ्नै राजनीतिमाथि मजाक गरिरहेका छन्, राजनीतिकरूपमा उनीप्रति विश्वास गर्ने वातावरण देखिन्न”, आचार्य भन्छन्, “भट्टराईले विकल्प दिन सक्छन् र खोजेको छन् भन्ने विषय नै गलत हो, उनले विर्सजनको ओत खोजिरहेका छन् ।”

भट्टराई माओवादी छोडेपछि जुन–जुन पार्टी र नेताहरुसँग जोडिन पुगे, त्यसले उनको आगामी यात्रामा गहिरो प्रभाव पार्नेछ । पुरानो बाटोको विकल्प भनेको नयाँ बाटो हुन्छ । घुमिफिरि उही पुरानै बाटोमा हिँड्ने प्रवृत्तिले नयाँ बाटोको विकल्पमा पुर्याउँदैन ।

भट्टराई कहिले अशोक राई त कहिले उपेन्द्र यादव अनि कहिले महन्थ ठाकुरहरुसँग ठोकिन पुगेका छन् । उनले आफ्नो यो यात्रालाई कुन कोणबाट पुष्टि गर्न सक्लान् ?

वैकल्पिक शक्ति त परको कुरा विकल्प भन्ने शब्दसँग समेत कुनै साइनो गाँस्न नसकेका राई, यादव र ठाकुरहरुसँगको बस-उठले वैकल्पिक शक्तिको उनको दावामा कुनै ताप पैदा गर्न सक्दैन ।

विकल्प बरु जन्मदैन, जन्मिएपछि उथलपुथल ल्याउँछ । विश्व राजनीतिमा देखिएको सामान्य नियम हो यो । तर, यहाँ विकल्प जन्मदा जन्मदै नेताहरुको महत्वाकांक्षाको जाँतोमा पिँधिएका छन् । लामो राजनीतिक यात्रा पार गरिसकेका बाबुरामले आँफू योभन्दा फरक कित्तामा उभिएको देखाउन सकेका छैनन् ।

विकल्प भनेको सम्भावना हो । सम्भावनाले गतिशिलता खोज्छ । गतिशिलता अगाडि जान्छ, पछाडि फर्किँदैन । केही समय अगाडि झण्डै झण्डै पुनः माओवादीमा मिसिन पुगेका भट्टराईले कुन चाहिँ वैकल्पिक शक्तिको रथ हाँक्ने हुन् ? राजनीति सम्भावनाको सागर हो । यो समयको गर्भमा हुन्छ । यो समयले नै बताउला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट