‘रवि र बालेनहरू उपन्यासका पात्र जस्ता हुन्, रियल लाइफमा खोजेर हुन्न’-Sutra News

‘रवि र बालेनहरू उपन्यासका पात्र जस्ता हुन्, रियल लाइफमा खोजेर हुन्न’

‘पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन संविधान र पार्टीको विधान बाधक छैन’

सोमबार, ३ असार २०८१

सोमबार, ३ असार २०८१

योगेश भट्टराई विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन् । पार्टीभित्र नेतृत्वको गलत र निरंकुश प्रवृत्तिविरुद्ध आवाज उठाइरहेन र बाहिर परिवर्तनकारी एजेन्डाको पक्षमा दृढरूपमा उभिने नेताको रुपमा भट्टराईको नाम आउँछ । तर, पछिल्लो समय उनी अलि मौन देखिन्छन् । बरु संसदमा उनले सहकारी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेका बचाउको पक्षमा आवाज उठाए । जुन अहिले केही विवादमा परेको देखिन्छ । 



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनताका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीलाई नेपालको राजनीतिबारे विश्वका विद्यालयहरूमा पढाउन जान दिएको सुझाव र पार्टी आफूजस्ता युवाहरूले हाँक्ने उनको अठोट निकै चर्चामा रह्यो । तर यही कारण उनी पार्टीमा ओझेलमा पर्नुपर्यो भन्ने टिप्पणी एकातिर छ भने अर्को माधव नेपाललाई पार्टी विभाजनको डिलमा पुर्‍याएर आफू ओलीको नेतृत्वमा लुटपुटिएको आरोप पनि उनीमाथि छ । 

एमालेको भावी नेतृत्वमा पूर्व राष्ट्रपति विद्या भण्डारी आउने चर्चाले भट्टराईजस्ता युवा र उनका सिनियरहरूको नेतृत्व क्षमतामाथि प्रश्न उठ्न सक्छ भन्दै गर्दा रास्वपाबालेनको भावी राजनीतिक कदमको चुनौति पनि छँदैछ । यही सेरोफेरोमा रहेर सूत्र न्यूजका लागि सरोज कोइरालाले एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईसँग कुराकानी गरेका छन् । सो कुराकानीको मुख्य तथा सम्पादित अंशः

कुनैबेला तपाई सर्वाधिक सुनिनुहुन्थ्यो । एमाले भन्नेबित्तिकै योगेश भट्टराईको भनाई भन्ने हुन्थ्यो । तर, आजकल अलि कम बोल्नुहुन्छ । मिडियामा कम आउन थाल्नुभएको हो कि अध्यक्ष ओलीको छायाँमा पर्नुभएको हो ?

पार्टीभित्र परिभाषित जिम्मेवारी हुन्छ । विगतमा म पार्टीको प्रचार विभागमा भएकाले पत्रकार मित्रहरूसँग भेटघाट र कुराकानी भइरहन्थ्यो । अहिले म त्यो भूमिकामा छैन । संसद्‌मा पार्टीका तर्फबाट बोल्ने क्रम चलिरहेकै छ । फेरि म एक वर्षदेखि पार्टीको मधेश प्रदेश इन्चार्जको जिम्मेवारीमा छु । यो अवधिमा म मधेश प्रदेशमै बढि केन्द्रित रहेँ । यसक्रममा मैले के अनुभुति गरेँ भने, मधेश प्रदेशमा हुने दैनिक राजनीतिक गतिविधि अन्य प्रदेशको तुलनामा केन्द्रिय मिडियाहरूमा नआउने रैछन् । मधेशमा पर्याप्त गतिविधि भएका छन्, त्यसमा मैले भाग लिएको छु । तर ति मिडियामा खासै आउँदैन थिए । बरु यसबारेमा मिडियाले नै पो सोच्ने हो कि ? 

अरु सबै सहकारीहरूलाई नजरअन्दाज गरी, त्यहाँका पीडितहरूलाई बेवास्ता गरी खाली रवि लामिछानेमा मात्र कांग्रेस केन्द्रित हुँदा हामीले त्यसलाई अस्वीकार गरेका हौँ । एमालेले लामिछानेलाई बोक्यो भन्ने आरोप सत्य होइन, हामीले सहकारी समस्याको परिणाममुखी समाधानको बाटो खोजेका हौँ । 

पछिल्लो समय नेकपा एमालेले रवि लामिछानेलाई यस्तरी बोक्यो कि यसो नगर्दा एमालेकै राजनीतिक भविष्य नै संकटमा पर्छ भन्ने जस्तै देखियो । सहकारी काण्डमा मुछिएका लामिछानेलाई एमालेले किन यसरी बोक्यो ?

रवि लामिछानेजीको पार्टी रास्वपा सत्ता समिकरणमै रहेको दल हो, त्यसैले हामी सहकार्यमा छौँ । नेपालमा ३३/३४ हजार सहकारीहरू छन् । त्यसमध्ये ३२ हजार सहकारीहरू सक्रिय छन् । त्यसमध्ये पनि सयौँको संख्यामा सहकारीहरू संकटमा छन् । लाखौँ मानिसको बचत हिनामिना भएको छ । त्यसमध्ये कतिपयमा गृहमन्त्रीको संलग्नताको कुरा छ र यसमा छानविन हुनुपर्यो भन्ने कांग्रेसको माग छ । 

अरु सबै सहकारीहरूलाई नजरअन्दाज गरी, त्यहाँका पीडितहरूलाई बेवास्ता गरी खाली रवि लामिछानेमा मात्र कांग्रेस केन्द्रित हुँदा हामीले त्यसलाई अस्वीकार गरेका हौँ । आखिर लामिछानेको मात्र नाम उल्लेख नगरी समग्र सहकारीका समस्या छानविन गर्न कांग्रेसले पनि त मान्यो । एमालेले लामिछानेलाई बोक्यो भन्ने आरोप सत्य होइन, हामीले सहकारी समस्याको परिणाममुखी समाधानको बाटो खोजेका हौँ ।

विद्यार्थी संगठन हाँकेर आएको, तत्कालीन राजदरबारको निरंकुशताविरुद्ध लडेर आएको युवा योगेश भट्टराईहरूले सहकारी काण्डमा आरोप लागेका रवि लामिछानेको पक्षमा आवाज उठाएको सुहायो त ? 

ठिकै छ, हाम्रा बारेमा यस्ता टिप्पणी हुनु पनि पर्छ । कति सही, कति गलत त्यो आफ्नो ठाउँमा छ । तर, हामीले गलत परम्परा बस्न दिनु हुँदैन । एउटा व्यक्तिलाई अपराधी घोषित गरेर संसदीय छानविन समिति बनाउने कुरा राम्रो होइन । समिति बनेको छ, अब छानविन हुन्छ नि त । यदि छानविनबाट आरोप पुष्टि भयो भने त्यतिबेला बोक्नुपर्ने आवश्यकता हुँदैन र एमालेले बोक्दैन । 

तपाईँहरूलाई उचाल्ने अनि पछार्ने गरेको आरोप पनि लाग्छ । माधव नेपाललाई पनि उचाल्नु भयो अनि पछार्नुभयो !

नेकपा एमाले विभाजन हुनुमा हामी १० भाई भनेर जुन आरोप लाग्छ, त्यो गलत हो । यसमा सत प्रतिशत दोष माधव नेपालको छ । हामी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा हामी त्यसको विपक्षमा थियौँ । नेकपा फुटपछि तत्कालीन एमाले एमालेमै र माओवादी माओवादीमै फर्किएपछि माधव नेपाललाई हामीले प्रष्ट भनेका थियौँ, पार्टी फुटाउने कुरामा हाम्रो समर्थन छैन । अध्यक्ष केपी ओलीले पनि माधव नेपाललाई पनि अध्यक्ष बनाएर दुई जना अध्यक्षसहित महाधिवेशनमा जाऔँ भनेर पार्टी जोगाउने प्रस्ताव राख्नुभएकै हो । तर पनि उहाँले मान्नुभएन । उहाँ पार्टी जसरी पनि फुटाउने भनेर तयार हुनुहुँदो रहेछ । 

कांग्रेसमा गगन थापाले नेतृत्वलाई धक्का दिइरहनुभएको छ । युवा नेतामा एमालेभित्र तपाईँमाथि आशा गरिन्थ्यो । तर अहिले अलि मौन हुनुहुन्छ । के एमालेमा ओलीलाई नै युवा नेता मान्नुभएको हो ? 

दलहरूमा नयाँ नेतृत्वको खोजी भइरहेको छ । यो औचित्यपूर्ण पनि छ । तर, पुराना दलका नेतृत्वले इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कतिपयले यसलाई स्वीकार्दैनन् । जेल बसेको कुरालाई पनि मजाकमा उडाउँछन् । परिवर्तनदेखि नयाँ संविधान निर्माणसम्म पुरानो नेतृत्वको उल्लेख्य भूमिका छ, यसलाई कम आँक्नु हुँदैन । 

अब क्रमशः नयाँ नेतृत्वले नै ठाउँ लिनुपर्छ । अब पार्टीभित्र क–कसले दाबी गर्नुहुन्छ, को–को त्यसका निम्ति तयार हुनुहुन्छ, त्यो हेर्दै जाउँ । तर, बिना सन्दर्भ नेतृत्वको बारेमा टिप्पणी गर्नु राम्रो होइन । हामीसँग महाधिवेशनका लागि अझै तीन वर्ष छ । त्यसैले भइरहेको नेतृत्वको बत्खाईँ गर्नुको अर्थ छैन । महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई स्वीकारेर जानुपर्छ । जतिबेला नेतृत्वको चयनको समय आउँछ, त्यतिबेलै चर्चा गरौँला ।

कांग्रेस एमाले जस्ता ठूला पार्टीले कार्यकर्ता चलाएर मात्र हुँदैन, देश चलाउनुपर्छ । यस्तो अवस्थामा नेता को त भनेर खोजी त भइहाल्छ नि । पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउनुहुन्छ कि हुन्न मैले त्यो बुझ्न पाएको छैन । तर, नेपालको संविधान र पार्टीको विधानले त रोक्दैन ।

राजनीतिक वृत्तमा एमालेको नेतृत्व पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले सम्हाल्दै हुनुहुन्छ भन्ने चर्चा पनि छ । खास कुरा के हो ?

कांग्रेस एमाले जस्ता ठूला पार्टीले कार्यकर्ता चलाएर मात्र हुँदैन, देश चलाउनुपर्छ । अन्तराष्ट्रिय सम्बन्धको जिम्मेवारी पनि उठाउनुपर्छ । यस्तो नेता को त भनेर खोजी त भइहाल्छ नि । मिडियामा चर्चा त भइराख्या छ तर, पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउनुहुन्छ कि हुन्न मैले त्यो बुझ्न पाएको छैन । नेपालको संविधान र पार्टीको विधानले त रोक्दैन । उहाँ आउँदा ठिक हुन्छ कि हुन्न, त्यो पनि एउटा बहसको विषय हो । मलाई लाग्छ त्यो बहस गर्न पनि अहिले हतार हुन्छ । 

भोली यदि नेतृत्वमा आउनुभयो भने ओली पछिका नेतादेखि तपाईंसम्मको नेतृत्व क्षमतामा त प्रश्न उठ्छ नि !

उहाँ आउँदा पनि हामीलाई अयोग्य सावित गरेर आउने होइन नि ! हाम्रै साथ लिएर नेतृत्व गर्न आउने हो । 

तपाईँको यो जवाफलाई सम्भावनाका रूपमा बुझौँ ? 

होइन, मैले भनिहालेँ नि, यसबारे छलफल गर्ने यो उचित समय होइन । पार्टी अहिले आफ्नो कोर्षमा छ । यो कोर्ष पूरा हुन दिऔँ । मिडिया र आम जनतामा अब दुई वर्षपछि छलफल चलाए हुन्छ । त्यतिबेला हामी महाधिवेशनको सम्मुख हुन्छौँ । 

पुराना पार्टीका युवा पंक्ति र नयाँ पार्टीका युवा नेताहरूबीच घम्साघम्सी पर्ने सम्भावना देखिएको छ । यसलाई कसरी लिनुहुन्छ ?

म राजनीतिबाटै देशको सेवा गर्न सकिन्छ भनेर लाग्नु भएका तमाम युवा साथीहरूलाई एमालेबाट राजनीतिमा आउन आग्रह गर्छु । एमालेबाट आए मात्र देश बनाउन सकिन्छ । नत्र तामझाम गर्नुको कुनै अर्थ छैन । नयाँ पार्टीहरुले बढीभन्दा बढी दुई/चार सिट बढाउने हुन । तर, एमालेमा आउनु भयो भने बहुमत नजिक रहेको छ, बहुमतमा पुगेर काम गर्न सकिन्छ । रास्वपालगायत जो–जो राजनीतिमा आउँदै हुनुहुन्छ, आउनुस् एमालेमा, यहीँबाट देशको सेवा गरौँ । 

२०८४ मा त बालेन पनि आउँदैछन् भन्ने चर्चा छ नि !

बालेनजीलाई पनि हाम्रो ढोका बन्द छैन नि !

यी साथी (रवि र बालेनप्रति लक्षित)हरू त उपन्यासको पात्र जस्तो लाग्छ मलाई । उपन्यासको पात्रको रियल लाइफको व्यवहार हेर्दा, नायक भन्न पनि नसुहाउने खालको हुन्छ । तसर्थ, राजनीति गर्ने मान्छे उपन्यासको पात्र जस्तो हुनुहुन्न ।

सतहमा हेर्दा, एमाले सिंगो बल लगाएर बालेनविरुद्ध भिडेको देखिन्छ । यस्तो अवस्था किन ?

एमालेसँग झगडा गर्दै हिँड्दा त एमालेले पनि त उहाँलाई जवाफ देला नि ! तर, हामी नचाहिँदो ढंगले झगडा गर्न जाँदैनौ । एमालेसँगै लड्ने हो भने त खुल्लम् खुल्ला आए भयो नि ! उपन्यासको पात्र जस्तो भएर किन आउनु ? यी साथीहरू त उपन्यासको पात्र जस्तो लाग्छ मलाई । उपन्यासको पात्रको रियल लाइफको व्यवहार हेर्दा, नायक भन्न पनि नसुहाउने खालको हुन्छ । तसर्थ, राजनीति गर्ने मान्छे उपन्यासको पात्र जस्तो हुनुहुन्न । 

२०८४ एमालेको हो । त्यसकारण हामी धेरै कचपच नगरी हिँडेका छौँ । हामी हामीले टेक्ने धरातल बलियो बनाउँदैछौँ । 

पुरा कुराकानी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट