गाउँबाट पलायन हुन बाध्यहरूका कथा भन्दै ‘राई माइलाले गाउँ छाड्यो रे !’-Sutra News

गाउँबाट पलायन हुन बाध्यहरूका कथा भन्दै ‘राई माइलाले गाउँ छाड्यो रे !’

मंगलबार, ४ असार २०८१

मंगलबार, ४ असार २०८१

राई माइलाले गाउँ छोड्यो रे
बाटो छेकी देउन
कुन गाडीमा चड्यो होला
कुन घुम्ती काट्यो होला
ढाट राखिदेउन
ए फर्क भनिदेउन
राई माइलाले गाउँ छोड्यो रे…!



यो गीत अहिले निकै चर्चामा छ । फिल्म ‘गाउँ आएको बाटो’ को गीत र जसमा दयाहाङ राईले अभिनय गरेका कारण मात्र चर्चामा आएको भने होइन । यसको मुख्य कारण भनेको यो गीत स्वयंले भन्ने कथा र यसले दिने सन्देश नै हो ।

यसमा पूर्वी पहाडको एक निम्नवर्गीय परिवारले ६० को दशकमा भोगेको समस्या प्रस्तुत गरिएको छ । गाउँमा गाडी (यातायात) आउँदा फूलमाला गर्ने परिवार अन्ततः त्यही सुविधाका कारण कसरी गाउँबाटै पलायन हुन पुग्छ भन्ने कुरा गीतले बाेकेकाे छ ।

गाउँमा डोका, मान्द्रा, नाङ्ला र चित्रा बुनेर एउटा परिवार चलिरहेको हुन्छ । छोरालाई ३० रुपैयाँको कालो चश्मा किन्न सक्दा त्यो परिवारमा संसार जितेको खुसी भित्रिन्छ । गाडी नपुगेको गाउँमा गाडी पुग्दा त्योभन्दा बढि खुशियाली छाउँछ ।

गाउँलेहरूले विकासको बहार आएको ठान्छन् र गाडीलाई फूलमालाले स्वागत गर्छन् । तर, गाउँमा बनेका सामग्री शहर पुग्दैनन्, बरु सहरका सुविधासम्पन्न सामग्री गाउँ आउँछन् र त्यहाँका परम्परागत सामग्रीको बजार लिन्छन् । परिणाम जसोतसो गरी खाइरहेको परिवार थातथलो नै छोडेर हिँड्ने कठोर निर्णयमा पुग्छ ।

गीतमा गाउँ छोड्नुको कारण मात्र होइन, एउटा व्यक्तिले, परिवारले गाउँ छोड्दा त्यसले सिंगो गाउँ, समाजमा कस्तो असर पर्छ भन्ने कुरा देखाउन पनि गीत सफल छ । एउटा परिवारले गाउँ छोड्दा गाउँलेहरूको विवाहमा एउटा जन्ती घट्छ, गाउँले मर्दा एउटा मलामी घट्छ, बिरामी पर्दा थेगभर गर्ने मान्छे घट्छ, खेत खन्ने खेताला घट्छ । अन्ततः समग्रमा गाउँको सह नै जान्छ भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ ।

कतिका लागि खुसी लिएर आएको सडकले कतिका लागि आँसु पनि सँगै लिएर आएको कटु यथार्थलाई गीतमा देखाइएको छ । ‘राई माइला’ बोलको गीतले पूर्वेली राई समुदायको संस्कार र संस्कृतिलाई देखाएको छ । श्रीमान् र श्रीमतीको नोकझोक र ठासठुस, खुसी र पीर, संघर्ष र निकट भविष्यप्रतिको चिन्तालाई गीतले समेटेको छ ।

फिल्मका मुख्य पात्र दयाहाङ राई, पशुपति राई, प्रशन राई र प्रेम सुब्बाको जीवन्त अभिनयले गीतमा प्राण भरेको छ । दयाहाङले फिल्ममा गरेको अभिनयलाई चार मिनेटको गीतमा गरेको अभिनयले छायामा पारिदिएको छ ।

पशुपति राईको अभिनय अभिनयजस्तो लाग्दैन । नयाँ कलाकारबाट थाहै नपाई लिएको सिन झैँ लाग्छ ।

श्रवण मुकारुङका शब्दले दर्शक स्रोतालाई आफ्नो गाउँ र आफू बाँचेको परिवेशमा पुर्याउँछ । गीतको पहिलो लाइनले नै आफूले गाउँ छोड्दा र आफन्त वा छिमेकी बसाइ सर्दाको वियोगान्त भावमा पुर्‍याइदिन्छ । सुनिता थेगिमको स्वर रहेको गीतमा कालीप्रसाद बाँस्कोटाले संगीत भरेका हुन् । गीत पूर्वेली भाकामा छ ।

फिल्म गाउँ आएको बाटोलाई नवीन सुब्बाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट