काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले रास्वपाका मन्त्रीहरुले कुर्सीमात्रै ओगटेको, काम नगरेको निष्कर्ष निकालेका छन् । ३८ जिल्लाको भ्रमणपछि ढकालले तयार पारेका समीक्षा यात्रा प्रतिवेदनमा पार्टीका मन्त्रीहरुको अक्षमताको ढाल बन्दा पार्टी मन्त्रीहरुको अक्षमतासँगै सती त जाने होइन भन्ने डर व्याप्त भएको उल्लेख छ ।
‘सरकारमा गएपछि काम गर्न दिँदैनन् र हामीले हाम्रो वाचाअनुसार काम गर्ने प्रयास गर्ने र काम गर्न नदिएपछि छोड्नपर्छ भन्ने अधिकांशको मत रह्यो,’ मुकुलको यात्रा प्रतिवेदनमा उल्लेख छ, ‘तर, मन्त्रीहरुले पार्टीको वाचा पत्र र आफैँले प्रतिपक्ष हुँदा उठाएका मुद्दाअनुसार चलेनन्, चल्ने प्रयास पनि गरेनन् भन्ने बुझाई व्याप्त छ । कुर्सीमा बस्ने कामबाहेक केही पनि पार्टीका मन्त्रीहरुले गरेनन् । पार्टीका मन्त्रीहरुको अक्षमताको ढाल बन्दा पार्टी मन्त्रीहरुको अक्षमतासँगै सती त जाने होइन भन्ने डर व्याप्त छ ।’
काम गर्न नसक्ने मन्त्रीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेमात्रै मात्र पार्टी जोगिनेसम्मको सुझाव आएको प्रतिवेदनमा उल्लेख छ । ‘राजेश हमालको कुनै कुनै फिल्म जस्तो अब त फाइट आउला, अब त फाइट आउला भन्दा भन्दै फिल्म सकिएजस्तै, अब त मन्त्रीहरुले फाइल खोल्लान्, अब त फाइल खोल्लान भन्दा भन्दै सकिने त होइन भन्ने डर पलाएको छ,’ मुकुलले प्रतिवेदनमा भनेका छन्, ‘
कुनै पनि हालतमा केही निश्चित व्यक्तिहरुको अक्षमताका कारण पार्टी बलि चढ्नु हुँदैन । शिक्षा मन्त्रालयबाहेकको मन्त्रालय सुतिरहेको त छैन भन्नेसम्मको आरोपहरु लागे । ’