राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पार्टीका मन्त्री, सांसद तथा केन्द्रीय सदस्यदेखि अनुशासन आयोगलगायत सबैको काम कारवाहीमाथि प्रश्न उठाउँदै सार्वजनिक भएको रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनले यतिखेर पार्टीभित्र ठूलो भूकम्प ल्याएको छ ।
बुधबार रास्वपाको घन्टीघर पूरै तनावमय बन्यो । केन्द्रीय समितिको बैठक लाइभ गर्नुपर्छ भन्ने मुकुलको प्रस्ताव अस्वीकृत भएपछि उनले बैठक स्थलमा मुखमा मास्क र मास्कबाहिर कालो टेप लगाएर बसिदिए । उपस्थित अधिकांश केन्द्रीय सदस्य आफूविरुद्ध खनिएपछि राति बैठक नसकिँदै उनी बैठक स्थलबाट बाहिरिए । त्यसपछि त्यही दिन रातारात केन्द्रीय समितिले उनलाई महामन्त्री पदबाट सात दिनका लागि निलम्बन गर्ने निर्णय गर्यो ।
कारवाहीका विविध पृष्ठभूमि त सार्वजनिक भइसके । तर, त्यसरात मुकुललाई कारवाही गर्नुअघिका केही दृश्य भने अझै ‘सेक्रेट’ नै छन् । त्यो के भने पार्टीको महामन्त्रीलाई तत्काल निलम्बन गर्न विधान या राजनीतिक दलसम्बन्धी ऐनले दिन्छ/दिँदैन भन्ने दुविधा बैठकमा उठेको थियो । त्यही क्रममा बैठक स्थलमै एक जना केन्द्रीय सदस्यको मुखबाट फुत्कियो, ‘मुकुल इमान्दार मान्छे छ, आफै फोन गर्यो भने उसैले भन्दिन्छ ।’ त्यसपछि एक केन्द्रीय सदस्यले उनलाई फोन गरेरै सोधेका थिए, ‘विधानअनुसार तपाईलाई कारवाही गर्न मिल्छ कि मिल्दैन ?’
मुकुलले पनि सोझो जवाफ फर्काए, ‘त्यहाँ राजनीतिक दलसम्बन्धी ऐन छ, हेर्नु । ’
मुकुल स्वयम् यो स्वीकार्छन्, तर यसबारे विस्तृत खुलाउन चाहँदैनन् । त्यसो त मुकुललाई सुरुमा एक महिनाका लागि निलम्बन गर्नु पर्ने केही केन्द्रीय सदस्यको मत थियो । तर, सभापति लामिछानेले मानेनन् । जसलाई कारवाही गर्ने हो उसैलाई फोन गरेर सोधेपछि बैठकको अन्त्यमा लामिछाने सहकर्मी मुकुलप्रति थोरै नरम सुनिएका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार उनले सात दिनमात्रै निलम्बन गर्नु पर्ने बताउँदै भनेका थिए, ‘अब तपाईहरु सात दिन मुकुलविना चलाएर देखाउनुस् । मुकुललाई मैले किन विश्वास गरेको थिएँ, त्यो तपाईहरुले महसुस गर्नुभएको रहेनछ, अब महसुस गर्नुस् ।’
शुक्रबार दिउँसो उनै मुकुलले आफ्नो स्पष्टीकरण पार्टीले नबुझेको खबर मिडियामा ल्याए । महामन्त्रीबाट निलम्बित भएपछि अब उनी के रणनीतिमा छन् ? प्रस्तुत छ, सूत्रन्यूजका लागि अनिल यादवले गरेको कुराकानीको सम्पादित अंश :
तपाईले पार्टीलाई बुझाएको स्पष्टीकरण दर्ता गरिएन भन्ने कुरा के हो ?
मिडियामा यो कुरा ल्याएपछि भर्खरै दर्ता भयो भन्ने कुरा आयो । नत्र १४ गते सोधिएको स्पष्टीकरणको मैले १९ गते नै दर्ता गरिदिन कार्यालय सचिवलाई भनेको थिएँ । तर, आजसम्म दर्ता भएको थिएन ।
तपाईले बैठकमा पेश गरेको प्रस्तावलाई नै पछि स्पष्टीकरण भनेर दर्ता गर्न लगाएको र केन्द्रीय सदस्यलाई सम्बोधन गरेका कारण दर्ता नगरिएको भन्ने छ नि ?
होइन । मैले पार्टीका कार्यालय सचिवलाई अनुशासन आयोगलाई नि बोधार्थ राखेर दर्ता गरिदिनु भनेको हो । अर्को कुरा, मैले स्पष्टीकरण भनेर बुझाएपछि कुनै पनि कारण देखाएर दर्ता गर्दिन भन्न पाइँदैनथ्यो ।
पार्टीले तपाईलाई अभद्र, अशोभनिय, अमर्यादित र अनुशासनहीन व्यवहार गरेको भन्दै निलम्बन गरेको छ । यसलाई कसरी लिनुभएको छ ?
राजनीति नै नबुझेपछि यहाँ समस्या भयो । मैले जनताका कुरा सुनेर आएपछि उहाँहरुले दिएको सुझाव र प्रतिक्रियाका आधारमा समीक्षा प्रतिवेदन बनाएकाले जनताले हेर्न पाउने गरी बैठक लाइभ गरौँ भनेर प्रस्ताव गरेको थिएँ । तर, गरिएन । त्यसपछि लाइभ नगरिए म केही बोल्दिनँ भनेर मुखमा टेप लगाएर सांकेतिक विरोधसहित बैठकमा बसेपछि जर्बजस्ती बोल कि बोल भन्न पाइन्छ ? जनताले केन्द्रीय सदस्यदेखि मन्त्री सबैलाई आरोप लगाएका थिए । त्यो मैले प्रतिवेदनमा जस्ताको त्यस्तै राखेको थिएँ । त्यस कारण जनतासामु लाइभ गरेर बैठक गर्नुपर्छ भन्दा मलाई उल्टै ‘ह्यारेस’ गरियो ।
मलाई बचपना देखायो भन्छन् । तर, बैठकको भोलिपल्ट बिहान राजीनामा दिने भनेर मन्त्रीहरु प्रधानमन्त्री कहाँ जानु भयो, अनि राजीनामा नदिई फर्किनु भयो । त्यो बचपना हो कि होइन ? मलाई स्पष्टीकरण नसोधी निलम्बन ठोक्दिनु भयो । यो पनि बचपना भयो कि भएन ?
अब तपाई के कदम चाल्नुहुन्छ ?
पहिलो कुरा, राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानले पनि मलाई स्पष्टीकरण नसोधी निलम्बन गर्ने अधिकार दिएको छैन । ढाका कुमार श्रेष्ठलाई कारवाही गर्दा पनि सुरुमा काम कारवाही गर्न रोक लगाइएको भन्ने भाषा प्रयोग गरेर स्पष्टीकरण सोधिएको थियो । अनिमात्रै निलम्बन । यहाँ त एकैपटक निलम्बन भयो । त्यो पनि उपसभापतिले निलम्बन गरेको सूचना निकाल्नु भएको छ । मलाई निलम्बन गर्ने अधिकार उपसभापतिलाई कसरी हुन्छ ? कि उहाँलाई सभापतिले लिखित रुपमा अधिकार प्रत्यायोजन गरेको पत्र दिएको हुनुपर्यो या केन्द्रीय समितिले जिम्मेवारी दिनुपर्यो । यहाँ पनि प्रक्रियासम्मत भएन । बैठकमा देखाएको गतिविधिका कारण निलम्बन गरिएको भन्ने छ । मलाई बचपना देखायो भन्छन् । तर, बैठकको भोलिपल्ट बिहान राजीनामा दिने भनेर मन्त्रीहरु प्रधानमन्त्री कहाँ जानु भयो, अनि राजिनामा नदिई फर्किनु भयो । त्यो बचपना हो कि होइन ? मलाई स्पष्टीकरण नसोधी निलम्बन ठोक्दिनु भयो । यो पनि बचपना भयो कि भएन ? म हुँदासम्म यसमा पनि मलाई दोषी देखाउँथे । अब मलाई निलम्बन गरेपछि भएको यो गतिविधिमा चाहिँ को जिम्मेवार ?
प्रक्रिया मिचेर निलम्बन गरिएको दाबी गरिरहँदा अब तपाईले पार्टी छाड्ने हो कि, पार्टीभित्रै संघर्ष गर्ने हो ?
अहिलेको निलम्बनलाई मैले राजनीतिक रुपमा लिएकाले धेरै प्रतिवाद गर्न चाहेको छैन । यद्यपि, विधि र प्रक्रियाका हिसाबले यो पूर्णतः गलत छ ।
राजनीतिक रुपमा प्रतिवाद भनेको के हो ? निलम्बन स्वीकारेर पार्टीभित्रै संघर्ष गर्छु भनेको हो या पार्टी छाड्छु ?
मलाई गरिएको निलम्बन नमानेर मलाई अहिले पनि महामन्त्रीको कुर्सीमा बस्ने जुन अधिकार छ, त्यो गर्ने पक्षमा छैन म । म आरामले घर बसेको छु । सुतेको छु । समाचारहरु हेरिरहेको छु । साथीभाइसँग गफ गरिरहेको छु । खासमा भन्दा म छुट्टी मनाइरहेको छु ।
ढिलो चाँडो पार्टीले मेरो आवश्यकता महसुस गर्छ नै । चाहे त्यो एक हप्ता, एक महिना, एक वर्ष या ०८४ को चुनावी परिणामपछि नै किन नहोस् । पार्टी ‘रियलाइजेसन’को समयमा पुग्छ, पुग्छ । मैले ममा कमजोरी छैन भनेकै छैन । ममात्रै होइन, सबै जना सच्चिनु पर्छ भनेर प्रष्टसँग लेखेकै छु ।
यो निलम्बनलाई तपाईले छुट्टीका रुपमा लिनुको अर्थ तपाई पदमा फर्किन्छु भन्नेमा विश्वस्त हो ?
राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेकै अवस्थामा चल्यो भने विवेकशिल पार्टीजस्तै हुन्छ भन्नेमा म ढुक्क छु । अस्तित्वमा त रहँला तर राजनीतिक शक्तिका रुपमा रहँदैन । पार्टीलाई जोगाउने उपाय के छ ? भनेर मैले सय दिने कार्य योजना पनि पेश गरिसकेको छु । पार्टीभित्रको गल्ती र कमजोरी पनि औँल्याइसकेको छु । मैले मेरो कर्तव्य पूर्ण रुपमा पालना गरेको छु । त्यसैले ढिलो चाँडो पार्टीले मेरो आवश्यकता महसुस गर्छ नै । चाहे त्यो एक हप्ता, एक महिना, एक वर्ष या ०८४ को चुनावी परिणाम पछि नै किन नहोस् । पार्टी ‘रियलाइजेसन’को समयमा पुग्छ, पुग्छ । मैले ममा कमजोरी छैन भनेकै छैन । ममात्रै होइन, सबैजना सच्चिनु पर्छ भनेर प्रष्टसँग लेखेकै छु।
तपाईको महामन्त्री पद फिर्ता आएन भने…?
त्यो त मलाई थाहा भएन । ०८४ पछि भए पनि जब मेरो सत्य कुरा प्रमाणित हुन्छ, त्यसपछि पार्टी मेरो लाइनमा आइपुग्छ । अर्को कुरा, मेरा लागि पद गौण हो, मुद्दा नै पहिलो प्राथमिकता हो ।
तपाईलाई पार्टीबाटै बर्खास्त गर्नु पर्छ भन्ने मत पनि छ, त्यस्तै निर्णय भयो भने के हुन्छ ?
त्यही त भन्दै छु, पद मेरा लागि महत्वपूर्ण भएन । पार्टी शुद्धिकरणको एजेन्डा महत्वपूर्ण हो । मलाई जसरी कारवाही गरियो, त्यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रबारे पनि छर्लङ्गै पार्छ । म चाहिँ पार्टीभित्रै घन्टी बजाउँछु । जनताको बोली बोल्दा ममाथि कारवाही हुनु त जनतामाथि कै अन्याय हो । राजनीतिमा कहिलेकाँही यस्तो अन्याय भइरहन्छ । त्यसले मलाई फरक पर्दैन । तर, म केमा प्रष्ट छु भने ढिलो चाँडो पार्टी शुद्धिकरणको एजेन्डामा जान्छ, जान्छ ।