काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध तेस्रो मुद्दा दर्ता भएको छ ।
राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी हत्या गरेको आरोपमा हसिनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
बंगलादेशका मिडियाका अनुसार हसिनासहित २४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीविरुद्ध दुई दिनमा दायर भएको यो तेस्रो मुद्दा हो ।
बुधबार राजोनका भाइ ३२ वर्षीय राजीवले ढाका महानगरीय मजिस्ट्रेट अहमद हुमायुन कबीरको अदालतमा मुद्दा दायर गरेका हुन् । अदालतले वादीको बयान स्वीकार गर्दै काफ्रुल प्रहरी चौकीलाई पहिलो सूचना प्रतिवेदन (एफआईआर)का रूपमा मुद्दा दर्ता गर्न निर्देशन दिएको छ ।
यसअघि सन् २०१५ मा उत्तराबाट सर्वोच्च अदालतका एक वकिललाई जबरजस्ती बेपत्ता पारेको आरोपमा हसिना र अन्य चार जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
मंगलबार अबु सइद नामको किराना पसल मालिकको हत्याको आरोपमा हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।