काठमाडौं । इटालीको सिसिली टापु नजिकै मंगलबार बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ ।
कूल १८४ फिट लामो याटमा २२ जना सवार थिए । जसमा अमेरिका, बेलायत र क्यानडाका १० चालक दलका सदस्य र १२ जना यात्रु थिए । डुंगाको भग्नावशेष पहिचान भएको छ । यो समुन्द्रको ५० मिटर गहिराईमा भेटिएको थियो ।
न्यूयोर्क टाइम्सका अनुसार याटमा राखिएका कुकको मृत्यु भएको छ । अन्य ६ जना हराइरहेका छन् । बेपत्ता हुनेमा बेलायतका प्रसिद्ध सफ्टवेयर व्यवसायी माइक लिञ्च र उनकी १८ वर्षीया छोरी हन्ना पनि छन् ।
व्यापारी लिञ्चकी श्रीमती एन्जेला बेकारेसलाई बचाइएको छ । उनी डुबेको याट बायेसियनको मालिक थिइन् ।
मोर्गन स्टेनली इन्टरनेशनलका अध्यक्ष जोनाथन ब्लुमर र उनकी श्रीमती पनि याटमा सवार थिए । उनीहरूको पनि खोजी भइरहेको छ । ब्लूमर लिञ्चको नजिकका साथी हुन् । धेरै वर्षदेखि आफ्नो मुद्दा लडिरहेका लिञ्चका वकिल पनि बेपत्ता छन् ।
इटालियन कोस्ट गार्डका एक अधिकारीले बीबीसीलाई भनेअनुसार आँधीले बिहान ५ बजे शक्तिशाली छाल निम्त्याएको थियो । जसले याटलाई ठक्कर दिँदा डुबेको थियो ।
कोस्ट गार्डका अधिकारीले याट नजिकै नेदरल्याण्ड्सबाट अर्को डुङ्गा आएको थियो । जसले १५ जनाको ज्यान बचाउन मद्दत गरेको बताए । जीवितै उद्धार गरिएकामा आमाबुवासँगै अस्पतालमा भर्ना भएकी एक वर्षीया बालिका पनि छन् ।