काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फुटबल खेलेर आफ्नो नाममा अनेकौँ विश्व कीर्तिमान बनाएका छन् । उनले एकै सिजनमा सर्वाधिक गोल गर्नेदेखि सबैभन्दा धेरै पारिश्रमिक लिने खेलाडी बनेर नाम लेखाइसकेका छन् ।
फुटबलमा आफूलाई दिग्गज खेलाडीका रुपमा स्थापित गराउन सफल रोनाल्डो खेल जीवनको उत्तरार्धमा छन् । ३९ वर्ष पूरा भएका उनी राष्ट्रिय टोली र क्लबबाट फुटबल खेले पनि सन्यासको नजिक छन् भन्दा फरक पर्दैन् ।
यिनै खेलाडीले आफ्नो नाममा अर्को विश्व कीर्तिमान थपेका छन् । यो कुनै खेलमार्फत नभई युट्युब च्यानल लञ्च गरेर हो । उनले आफ्नो नाममा युट्युब च्यानल लञ्च गरेको २४ घण्टा पनि पूरा भएको छैन । तर, यसले अनेकौँ विश्व कीर्तिमान बनाइसकेको छ ।
रोनाल्डोले युट्युब च्यानलको नाम युआर क्रिस्टियानो राखेका छन् । यस च्यानलमा सबैभन्दा छिटो एक मिलियन (दश लाख) सब्सक्राइबर पार गर्ने विश्व रेकर्ड बनाएको छ ।
यो युट्युब च्यानलले पहिलो ९० मिनेटमा एक मिलियन अर्थात १० लाख सब्सक्राइबर पाएको थियो । चार घण्टामा पाँच मिलियन सदस्य पुगेको थियो ।
अहिले पनि यो च्यानलमा सब्सक्राइबर बढ्ने क्रम तीव्र गतिमा रहेको छ । यो समाचार तयार पार्दासम्म सब्सक्राइबरको संख्या झण्डै १९ मिलियन अर्थात एक करोड ९० लाख पुगेको छ ।
सब्सक्राइबमा मात्रै होइन, भ्यूजमा समेत नयाँ कीर्तिमान बनेको छ । उनको च्यानलमा झण्डै ४० मिलियन अर्थात चार करोड ६ लाख भ्युज पुगेको छ ।
उनले च्यानल सार्वजनिक गरेको २४ घण्टा पूरा नहुँदै १० लाख सब्सक्राइब हुँदा पाउने गोल्डन बटन पाएको भिडिओ सार्वजनिक गरेका छन् । यस क्रममा उनले जम्मा १९ वटा भिडिओ अपलोड गरेका छन् ।
यसअघि पनि सामाजिक सञ्जालमा उनलाई पछ्याउनेको संख्या अधिक रहेका छन् । उनको इन्स्टाग्राम, एक्स (पहिले ट्विटर), फेसबुक जस्ता सामाजिक सञ्जालमा करोडौं फलोअर पाएका छन् ।
रोनाल्डोले युट्युब च्यानल खोलेसँगै उनले आफ्ना फ्यानलाई फुटबलबाहेक आफ्नो ‘परिवार, स्वास्थ्य, पोषण, तयारी, रिकभरी, शिक्षा र व्यवसाय’लगायतका बारे जानकारी दिने बताएका छन् ।
यसअघि उनको एक्समा ११२.६ मिलियन, फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा विश्वकै सर्वाधिक ६३६ मिलियन फलोअर्स छन् । एजेन्सी