काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते भएका र मृतक शव लिएर जान भारतबाट एक केन्द्रीय मन्त्रीलाई नेपाल आउने भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आउने भएकी हुन् । उनका साथमा महाराष्ट्र जलगांवका एक जना विधायक पनि आउने जानकारी गराइएको छ ।
घाइते १६ भारतीय यात्रीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार हुँदै छ । घाइते यात्रुको उपचारका लागि टिचिङ अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ ।
दुर्घटनामा सामान्य घाइते भएका तीन जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।
त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।