काठमाडौं । यमनको तटमा आप्रवासीको डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । घटनामा १४ जना बेपत्ता भएका छन् ।
जिबुटीबाट प्रस्थान गरेको डुङ्गामा २५ जना इथियोपियाली आप्रवासी र दुई यमनी नागरिक रहेको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले जनाएको छ ।
घटनामा ११ पुरुष र दुई महिलाको शव फेला परेको छ । बाँकी बेपत्ताको खोजी कार्य जारी रहेको आइओएमले जनाएको छ । डुङ्गा पल्टिनुको कारण स्पष्ट भएको छैन ।
आइओएमले द्वन्द्व, गरिबी र जलवायु सम्बन्धी चुनौतीलगायत अनियमित बसाई सर्ने मूल कारणको समाधान गर्न सबै पक्षलाई आह्वान गरिरहेको छ ।