काठमाडौं । क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने घोषणा भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोका अनुसार सरकारले देशमा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारको संख्या घटाउन लागेको हो ।
ट्रुडोले अब क्यानेडेली व्यवसायहरूले घरेलु कामदार र युवामा लगानी गर्ने समय आएको बताउँदै श्रम बजारमा परिवर्तन आएको बताए । उनले भने, ‘हामी क्यानडामा आउने कम ज्याला, अस्थायी विदेशी कामदारको संख्या घटाउँदै छौँ, श्रम बजार परिवर्तन भएको छ, अब हाम्रो व्यवसायले क्यानेडेली कामदार र युवामा लगानी गर्ने समय हो ।’
क्यानडा बढ्दो जनसंख्याको समस्यासँग जुधिरहेको बेला यो कदम चालिएको हो । यो समस्याले आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाब परेको अर्थविद्हरू बताउँछन् । संघीय तथ्यांकका अनुसार गत वर्ष क्यानडाको जनसंख्या वृद्धि हुनुको सबैभन्दा ठूलो कारण अध्यागमन थियो ।
ट्रुडो र उनको सरकार देशमा सेवा र आवास निर्माण जस्ता सुविधा नबढाई अध्यागमनलाई बढावा दिएकोमा आलोचना भइरहेको छ । पछिल्लो दुई महिनामा क्यानडाको बेरोजगारी दर बढेर ६.४ प्रतिशत पुगेको छ ।