काठमाडौँ । दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीबाट भियतनाममा नौ जनाको मृत्यु भएको छ ।
आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुङ्गा डुबाएको र पहिरो गएको बताइएको छ । उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीलाई उद्धृत गर्दै भिएनएक्सप्रेसले भनेको छ, “यागीले ल्याएको केही घण्टाको भारी वर्षापछि मध्यराततिर पहिरो गई एक घरलाई पुरेको छ, घटनामा ५१ वर्षीय एक पुरूषले भागेर ज्यान बचाउन सफल भएको तर उनकी श्रीमती, छोरी र दुई नातिनातिना पुरिएका थिए ।’
उत्तरी भियतनाममा शनिबार १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गरेको छ । हाई डुओङ प्रान्तमा शुक्रबार आएको हावाहुरीका कारण एउटा रुख ढलेर एक व्यक्तिको मृत्यु भएको थियो ।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हा लोङ बेमा आइतबार बिहान भएको क्षतिको अध्ययन गर्दा मछुवाहरू स्तब्ध भएका थिए ।