काठमाडौँ । राजनीतिमा फरक धुव्रमा आस्था राख्ने प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित दलहरू मिलेर बनेको सरकार सय दिन पूरा भएको छ ।
दुई तिहाई शक्तिका साथ सरकार बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा धेरै राम्रो काम गरेको भन्दै दाबी गरे । गत बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो सय दिनमा १८५ वटा काम सम्पन्न गरेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले सय दिनमा सरकारले गरेका कामबारे जानकारी दिँदै सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउदेखि संविधान दिवसमा दरबारमार्गमा गरेको कन्सर्टलाई समेत उपलब्धि मानेको छ ।
‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीउपर कानूनी कारबाही अघि बढाउछौँ, जोसुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गर्नेछौँ,’ सम्बोधनमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘आज म यो भन्ने ठाउँमा आइपुगेको छु– सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूलाई कानूनी कारवाहीको दायरामा ल्याएको छ, सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही सुरु भएको छ ।’
प्रधानमन्त्री अोली नेतृत्वको सरकारले राम्रो काम गरेको दाबी गरिरहँदा असोज १० देखि १३ गतेसम्म परेको वर्षाका कारण देशभर २४६ जनाले ज्यान गुमाए । १८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
यस घटनामा हजारौँ जनता घरबारविहीन हुँदा अर्बौं धन सम्पत्ति नष्ट भएको थियो । तर, सरकारले विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधारको सेवा दिएको दाबी गर्न भ्याएको छ ।
सरकारले जनताको पक्षमा काम गरेको दाबी गरिरहँदा सत्ता साझेदारी दल कांग्रेसको ठूलो पक्षले ओली नेतृत्वको सरकारले काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।
शनिबार आयोजित एक कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सुशासनका लागि ठूला दल मिलेर सरकार बनाए पनि लक्ष्यअनुसार काम गर्न नसकेको टिप्पणी गरे । ‘प्रधानमन्त्रीले सरकार ढल्ने कुरा गरेर जनतालाई भुलभुलैयामा पारेको छ, यसले आर्थिक विकास र सुशासनमा बाधा पुगेको छ,’ उनले भने ।
सडकमा विपक्षी दल
एमाले अध्यक्ष अोलीको नेतृत्वमा सरकार बनेको सय दिन पूरा भएसँगै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरू सडकमा उत्रिएका छन् ।
प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज काठमाडौँ खबरदारी सभा गर्दै सडकबाट सरकारविरुद्ध आन्दोलन सुरु गरेको छ । माओवादी केन्द्रको बागमती प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको दाबी गरे ।
‘हामीले खबरदारी सभा राख्नेबित्तिकै सत्ता पक्षले सबैलाई एकै ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजेको, त्यसो गर्नु संविधान विरोधी हुन्छ भन्ने होहोल्ला गरे, माओवादीले सरकार ढाल्ने खेलमा लाग्दैन, तपाईंहरू पूरै चलोस्,’ प्रचण्डले भने ।
माओवादीका नेताहरू सरकारविरुद्ध आक्रोश हुँदै जनताको अपेक्षअनुसार काम गर्न नसकेको आरोप लगाए । नेताहरूले अहिलेको सरकार बिचौलियाको संरक्षण गर्न बनेको भन्दै आक्रोश भएका थिए ।
यस्तै, असोज २ गते शुक्रबार पार्टी सभापति लामिछाने पक्राउ परेसँगै अर्को विपक्षी दल रास्वपा सडक आन्दोलनमा केन्द्रीत हुँदै आएको छ ।
राजनीतिमा आउनुअघि गोर्खा मिडिया नेटवर्कमा सञ्चालक बनेका लामिछानेले विभिन्न सहकारीबाट बचत लगेर हिनामिना गरेको आरोपमा पक्राउ परेका थिए । उनको व्यवसायी साझेदारी पूर्वडीआईजी छविलाल जोशी प्रहरी हिरासतमा छन् भने प्रमुख दोषी जीबी राई फरार छन् ।
रास्वपाले आफ्नो पार्टी सभापतिलाई राजनीति प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आन्दोलन गरिरहेको छ । यसैबीच लामिछानेमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको आरोपमा कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
यसैबीच, राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली यात्रा सुरु गरेको छ । हिन्दु राज्यसहित राजतन्त्रको माग गरी सडकमा पुगेको राप्रपाले अहिलेको व्यवस्था ठिक नभएको बताउँदै आएको छ । राप्रपाले २०६२–६३ पछि पालैपालो देशको बागडोर सम्हालेका कांग्रेस, एमाले र माओवादीप्रति कटाक्ष गर्दै आएको छ ।