काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार बिसाउन लगाउन आफूहरूले जानेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् । गैरआवासीय नेपाली संघको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो जवाफ फर्काएका हुन ।
शनिबार माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘हामीले हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्षेका छैनौं’ भन्ने अभिव्यक्ति दिएका थिए ।
“हिजो एक जना उफ्री उफ्री भाषण गर्दै थिए, हतियार बिसाएको मात्र हो भ्रम नरहोस्, चलाउन बिर्सेको छैन रे !”, प्रचण्डको भनाईप्रति लक्षित गर्दै ओलीले भने, “फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौ तर बिसाउन लगाउन जानेको छ हामीले ।”
प्रधानमन्त्री ओलीले धम्क्याएको भरमा खाने दिन अब गएको बताए । उनले अराजकताको बाटो नरोज्न पनि सुझाएका छन् ।