काठमाडौँ । भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्मलाई ‘परिणामी कारबाही’ गर्ने चेतावनी दिएको छ ।
बमको चेतावनीपछि भारतीय विमान गन्तव्यबाट क्यानडा र जर्मनीतर्फ जान बाध्य भएका थिए । विमानलाई लडाकु विमानले बेलायत र सिङ्गापुरमाथिको आकाशमा पहरा दिएका थिए ।
सरकारले चेतावनीको संख्यामा देखिएको वृद्धि ‘अनियन्त्रित र जोखिमपूर्ण’ रहेको बताएको छ । यदि, उनीहरूले ‘गलत सूचना पठाउने कार्यलाई तुरुन्तै रोकेनन्’ भने प्रशासनले सामाजिक सञ्जाललाई ‘कानूनमा व्यवस्था भएअनुसार कारबाही’ गर्ने चेतावनी दिएको छ ।
“एयरलाइन्समा बम पड्काउने चेतावनीजस्ता दुर्भावनापूर्ण कार्यका घटनाले सार्वजनिक व्यवस्था र राज्यको सुरक्षामा खतरा निम्त्याउन सक्छ,” प्रशासनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“यस्ता भ्रामक चेतावनीको संख्याको वृद्धिले नागरिकको उडान र सुरक्षासम्बन्धी मनोबललाई असर गर्नुका साथै देशको आर्थिक सुरक्षालाई पनि अस्थिर बनाउँछ,” विज्ञप्तिमा भनिएको छ ।
प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) समाचार संस्थाका अनुसार अक्टोबरको मध्यदेखि अहिलेसम्म कम्तीमा २७५ वटा विमानमा बम विस्फोटको धम्की दिइएको छ । अन्य भारतीय सञ्चार माध्यमका अनुसार यो संख्या चार सय हाराहारीमा हुन सक्छ ।