काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा प्रश्न उठ्ने गरी काम नगर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गरे ।
“अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ, अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाड्ने संकल्पका साथ हामी अघि बढ्का छौँ, सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्र र राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्नेजस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन,” प्रधानमन्त्री ओलीले भने ।
यस क्रममा उनले हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्षित गर्दै माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार नगर्न आग्रह गरे ।
लोकतन्त्र भनेको छाडातन्त्र नभएको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले थपे, “नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौँ, चुट्छौँ, मार्छौं, काट्छौँ भन्नु छाडातन्त्र हो, प्रजातान्त्रिक शासन व्यवस्थामा त्यस्ता क्रियाकलाप सैह्य हुँदैनन् ।”
उनले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नु पर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनु पर्ने बताए ।