अण्डाको मूल्य बढेपछि किसानलाई राहत, प्रतिक्रेट कति पुग्यो ?-Sutra News

अण्डाको मूल्य बढेपछि किसानलाई राहत, प्रतिक्रेट कति पुग्यो ?

सोमबार, १२ कार्तिक २०८१

सोमबार, १२ कार्तिक २०८१

काठमाडौँ । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि भएसँगै उत्साहित भएका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् ।



नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार सोमबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटा)को पाँच सय, मध्यम चार सय ८५ र ‘एक्सएल’ पाँच सय १५ कायम गरिएको छ ।

यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठूलो अण्डा तीन सय ६०, मध्यम तीन सय र एक्सएल तीन सय ७५ मा झरेको थियो ।

विगत दुई सातायता क्रमशः मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताए । लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको जानकारी दिए ।

भदौ पहिलो साता दैनिक ३० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो संख्या घटेर २२ लाख हाराहारीमा झरेको छ । उनको भनाइमा नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएका छन् ।

उद्योग संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कुखुरापालक किसान त्रिलोचन कँडेल किसानले पालेका अण्डा उत्पादन हुने कुखुराहरु बिक्री भएको र नयाँ चल्ला हुर्किन नसक्दा उत्पादन घटेको बताउँछन् ।

उनले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसान फेरि व्यवसायमा फर्किएको बताए । लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नु पर्ने अवस्था आएमा बाँकी किसान पनि विस्थापित हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट