काठमाडौँ । तिहारको धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु गरेको छ ।
बैंकले काठमाडौँको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्बर पोखरेलले जानकारी दिए । सुनको असर्फी भने मंगलबार एक दिनमात्रै बिक्री गरिने उनको भनाइ थियो ।
बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाई मेडालियनको दर २२ सय रुपैयाँ तोकेको छ । गाई मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकिएको पोखरेलले बताए ।
सुनको असर्फी नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने भएको छ । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्दै आएको छ ।