तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने-Sutra News

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने

सोमबार, १२ कार्तिक २०८१

सोमबार, १२ कार्तिक २०८१

काठमाडौँ । यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान)का अनुसार यस वर्ष गत वर्षभन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो ।



एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेष गरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताए । नेपाली धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उनले जानकारी दिए ।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ । यद्यपि, तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसका लागि प्रयोग हुने रातो गुलाफको फूलमा अझै आत्मनिर्भर हुन नसकिएको जनाइएको छ ।

यस वर्षको तिहारको लागि ४० लाख सयपत्री फूलको माला चाहिने अनुमान गरिएकामा २५ लाख मालाका लागि मात्र नेपालमा उत्पादन हुने गरेको बाँकी भारतबाट आयात गर्नु पर्ने अवस्था रहेको सोसिएसनले जनाएको छ ।

हरेक वर्ष बजार माग १५ देखि २० प्रतिशतले बढ्ने र मागअनुसार फूल उत्पादन हुन नसक्दा सयपत्री फूलमा आत्मनिर्भर हुन नसकेको एसोसिएसनका अध्यक्ष बादेले बताए । उनका अनुसार गत वर्षभन्दा यस वर्ष सात लाख बढी मालाको बजार माग छ ।

गत वर्षको तिहारमा ३३ लाख मालाको माग भएको थियो । यस वर्ष तिहार उपयुक्त समयमा परे पनि गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण फूलखेतीमा ठूलो नोक्सानी बेहोर्नु परेको छ ।

नेपालमा व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएका एसोसिएसनको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट