आजदेखि तिहार सुरु, पहिलो दिन धनतेरस अर्थात् धनत्रयोदशी भित्र्याउँदै-Sutra News

आजदेखि तिहार सुरु, पहिलो दिन धनतेरस अर्थात् धनत्रयोदशी भित्र्याउँदै

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौँ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आजदेखि सुरु भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।



बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ ।

काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।

“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नु पर्ने र प्रातः अर्थात् सूर्योदय कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनु पर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा अधिकारीले जानकारी दिए । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नु पर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मी पूजा गर्नु पर्ने समितिका अध्यक्ष अधिकारीले बताए । बिहीबार बिहान अरुणोदय कालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले लक्ष्मी पूजा पनि यसै दिन गर्नु परेको समितिका अध्यक्ष प्रा. अधिकारीले उल्लेख गरे ।

उनका अनुसार रातमा औँशी तिथि परेका दिन लक्ष्मी पूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँशी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।

गाईगोरु पूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नु पर्ने शास्त्रीय वचन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट