काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा बृद्धि भएको छ । मंगलबार ४६.६९ अंकले बढ्दै नेप्से २६९२.०५ को बिन्दुमा उक्लिएको छ । मंगलबार समग्रमा १.७६ प्रतिशतले नेप्से बढेको छ ।
यसअघि सोमबार नेप्से २७.४१ अंकले बढेको थियो ।
नेप्से बढ्दै कारोबार रकम पनि उत्साहजनकरुपमा बढेको छ । एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको भयो । जुन केही कारोबार दिनयताकै उच्च हो ।
उच्च अंकले नेप्से बढ्दै गर्दा अधिकांश कम्पनीको मूल्यमा बृद्धि भयो । कारोबारमा आएका २४३ कम्पनीमध्ये २२१ को मूल्य बढ्यो भने १७ को मूल्य घट्यो । ५ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
मंगलबार चार कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भयो । सप्तकोशी विकास बैंक, सानिमा जिआइसी इन्स्योरेन्स, कुथेली भुकारी स्माल हाइड्रोको मूल्यमा १० प्रतिशतले बृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.९८ प्रतिशतले बृद्धि भयो ।
उच्च बृद्धिका बिच समृद्धि फाइनान्स, पिपुल्स हाइड्रो पावर, सप्तकोशी डेपलपमेन्ट बैंक, जानकी फाइनान्सलगायत कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे । समृद्धि फाइनान्सको मात्रै मंगलबार कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँको भयो ।
दसैंअघि र पछिका केही कारोबारमा भएको उच्च बृद्धिसँगै नेप्सेमा उच्च अंकको करेक्सन भएको थियो । करेक्सनको तह पार भएसँगै नेप्सेले पुनः पुरानै लय समात्न थालेको हो ।
मंगलबारको कारोबारसँगै नेप्से २७ सय बिन्दु नजिक उक्लिएको छ । सँगै नेप्सेले मनोवैज्ञानिकरुपमा देखिएको अन्योलताको अवस्थालाई पनि चिरेको छ । विशेषगरी राजनीतिक क्षेत्रमा भइरहेको उथलपुथलकारी घटनाबाट नेप्से केही प्रभावित बनेको थियो ।