काठमाडौँ । सहकारी ठगी गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान मन्त्री रवि लामिछानेलाई थुनामा राख्न अदालतले दिएको समय भोलि सकिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामिछानेलाई हिरासतमा राख्ने म्याद भोलि सकिने भएको हो । उनको हिरासतमा बस्ने म्याद सकिने भएसँगै तिहार पर्वको सार्वजनिक बिदा हुने छ । तत्काल अर्को म्याद थपिन नमिल्ने प्रहरीले जनाएको छ ।
‘कानूनी रूपमा भोलिसम्म थुनामा राख्न पाउने म्याद छ, तर १५ गतेदेखि सार्वजनिक बिदा भएकाले अदालत खुलेपछि मात्रै हामी म्याद थप्नका लागि जान्छौँ,’ एक प्रहरी अधिकारीले भने ।
आगामी १९ गतेसम्म तिहारको बिदा हुने भएकाले रास्वपा सभापति लामिछाने उक्त दिनसम्म थुनामा बस्नु पर्ने हुन्छ । बिदा सकिएपछि म्याद थपका लागि फेरि अदालत जाने प्रहरीले तयारी गरेको छ ।
तेस्रो पटक अदालतको अनुमतिअनुसार पूर्व गृहमन्त्री लामिछानेको हिरासत बसाइ तय हुनेछ । तेस्रोपटक अदालतमा लैजाँदा धरौटीमा रिहा गर्ने आदेश आए उनी थुनामुक्त हुने छन् ।
यसअघि जिल्ला अदालत कास्कीले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न दुई पटक म्याद थप गरेको थियो । दोस्रो पटक म्याद थपेकै दिन जिल्ला अदालत रूपन्देहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
यता, आफ्नो पार्टी सभापति लामिछाने पक्राउ परेको भन्दै रास्वपाका नेता कार्यकर्ताले देशभर आन्दोलन गरिरहेको छ । पोखरामा केन्द्रीत भएको आन्दोलन केही दिनदेखि काठमाडौँमा चर्किएको छ । जसअनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आन्दोलन भएको थियो ।
रास्वपासँगै अरू विपक्षी दलहरूले लामिछानेको पक्राउ राजनीतिक प्रतिशोधमा रहेको बताइरहँदा सत्तारूढ दलहरूले संसदीय विशेष समितिको सिफारिसका आधारमा छानबिन अगाडि बढेको दाबी गर्दै आएका छन् ।
उनीहरूले न्यायिक प्रक्रिया सुरु भइसकेकाले अदालत र अनुसन्धानलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न आग्रह गर्दै आएको छ ।
संसदीय छानबिन समितिले लामिछानेले सहकारीबाट ऋण लिन प्रत्यक्ष भूमिका नभए पनि सहकारीबाट लिइएको ऋण लगानी गरी टेलिभिजन सञ्चालन गरेको भन्दै दोषी ठहर गरेको थियो ।
लामिछानेका व्यापारिक सहकर्मी गोर्खा मिडिया नेटवर्कका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई फरार छन् । उनका अरू साझेदारीहरू प्रहरी हिरासतमा नै छन् । उक्त समितिले गोरखा मिडियामा कागजात ‘कीर्ते’ गर्ने काम भएको कुरालाई पनि औँल्याएको थियो ।