ओलीले छाडे अडान, सत्तामाथि उठेको प्रश्न तत्काललाई साम्य-Sutra News

ओलीले छाडे अडान, सत्तामाथि उठेको प्रश्न तत्काललाई साम्य

शनिबार, ८ मंसिर २०८१

शनिबार, ८ मंसिर २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति नजिकिँदै गर्दा सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिचको किचलो सतहमा पोखियो । दुई दल विशेषगरी चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को एजेन्डामा बाँडिए ।



योबिचमा दुई दलले साझा मत बनाउने प्रयास पनि गरे । यद्यपि, मिलनबिन्दु भने भेटिन सकेन ।

नेपाली कांग्रेस बीआरआईलाई अनुदानको रूपमा मात्रै स्वीकार गर्ने पक्षमा छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएअनुसार बीआरआई परियोजनाअन्तर्गत ऋण सहायता लिन नहुने अडान कांग्रेसको छ ।

“विआरआईबारे कांग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौँ, हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौँ”, महतले भनेका छन्, “चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै वर्ष भइसक्यो, कार्यान्वयन भएको छैन, अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ ?”

यद्यपि, एमालेले भने अनुदान वा ऋण दुवैमा स्वीकार गर्न सकिने बताइरहेको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार विकासका काम गर्न ऋण सहायता लिन सकिन्छ ।

महासचिव पोखरेलले दुई दलबिचको मतभेद चुलिँदै गर्दा सामाजिक सञ्जालमार्फत शुक्रवार नौ बुँदामा कांग्रेस लक्षित प्रश्न गरेका थिए ।

“नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?”, उनले प्रश्न गरेका छन्, “नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गलत हो ? नेपाललाई भूपरिवेष्टित मुलुकबाट भू जडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?”

बीआरआईलाई लिएर विकास भएको किचलोकै बिच शुक्रवार एमालेले ‘जागरण सभा’को नाममा काठमाडौंमा शक्ति प्रदर्शन ग¥यो । एमालेको शक्ति प्रदर्शन विरोधीलाई लपेट्नेभन्दा पनि सत्ता साझेदार कांग्रेसलाई दबाबमा राख्न खोजेकोमा दुबिधा देखिएन ।

यद्यपि, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनका क्रममा बीआरआईबारे निकै लचक शैलीमा आफूलाई प्रस्तुत गरे । उनले कांग्रेसको भाषाअनुसार अहिले कसैसँग ऋण लिने अवस्था नभएको बताए ।

“देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ, त्यसरी नै हामीले हाम्रा भ्रमणहरूलाई सफल बनाउने ढङ्गले प्रस्तुत हुन्छौ”, ओलीले बीआरआई किचलोलाई सम्बोधन गर्दै उनले भनेका छन्, “ हामी सकेसम्म कसैको पनि ऋण लिँदैनौँ, अहिले ऋण लिने मनस्थिति र अवस्था पनि छैन, तर हामीले उत्पादन बढाउनुपर्छ, आफैँले उन्नति गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई केलाउँदा, उनी कांग्रेसलाई मनाउने शैलीमा प्रस्तुत भएका छन् । जसअनुसार चीन भ्रमणका बेला बीआरआईमा सहमति नहुन सक्छ ।

कांग्रेसका नेता विमलेन्द्र निधिले पनि सोतर्फ संकेत गरेका छन् । उनका अनुसार बीआरआईमा बृहत् छलफल हुनुपर्ने पक्षमा कांग्रेस छ ।

“आयोजना अनुदानमा दिइयो भने ठिक छ तर ऋणका रूपमा लिनु हुँदैन। यसमा हामीले आफ्नो कुरा राखिरहेकै छौँ, ऋण लिने गरी कुनै सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको छ”, निधिले भनेका छन्, “यसमा बृहत् छलफल गरी निष्कर्षमा पुग्न जरुरी छ । अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसद्मा पनि यस विषयभित्रका सन्दर्भ र योजनाबारे छलफल हुनपर्छ ।”

बीआरआई परियोजनालाई लिएर मतभेद चुलिएसँगै प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका थिए । पछिल्लो लचकताले सत्ता सहकार्यमा देखिएको तुवाँलो पनि तत्कालको लागि हटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट