काठमाडाैं । सूर्या-बबी देओल अभिनित एक्सन फिल्म ‘कंगुवा’को अवस्था नाजुक बन्दै गएको छ । दिन बित्दै जाँदा चलचित्रको कलेक्शन ग्राफ निकै ओरालो लागेको छ ।
नोभेम्बर १४ मा बक्स अफिसमा रिलिज भएको ‘कंगुवा’को ९ औं दिनको कलेक्सनमा भारी गिरावट आएको छ । फिल्मले करोडमा होइन लाखौंमा मात्रै कमाएको छ, जसले चलचित्र छिट्टै हलबाट उत्रिने सम्भावना पनि दर्शाएकाे छ ।
भारतीय सञ्चार माध्यमले जनाएअनुसार फिल्मले पहिलो हप्तामा कुल ६२.४० करोड भारू कमाएको छ । आठौं दिनमा १.९ करोड भारूको साथमा फिल्मले बक्स अफिसमा ६४.३ करोड भारूको कुल कलेक्सन गरेको थियो । चलचित्र दोस्रो हप्तामा प्रवेश गरेको छ ।
नयाँ सप्ताहन्त सुखद देखिएकाे छैन । मिडिया रिपाेर्टहरू अनुसार बिहीबारदेखि फिल्मकाे व्यापारमा भारी गिरावट आएकाे छ ।
फिल्मले दोस्रो शुक्रबार अर्थात् नवौं दिन जम्मा ६१ लाख भारू कमाएको छ । जसमा तमिलले ३४ लाख, हिन्दीले २० र तेलुगुले ७ लाख रुपैयाँ योगदान गरेको जनाइएकाे छ । ९ दिनपछि भारतमा फिल्मको कुल कलेक्सन ६४.९१ करोड भारू पुगेकाे छ ।
अहिलेको गतिलाई हेर्दा यो फिल्मले बक्स अफिसमा सय करोडको आँकडा पनि नछुन्ने अनुमान गरिएको छ ।
शिव निर्देशित फिल्म कंगुवामा सूर्या, बबी देओल, दिशा पटानीको मुख्य भूमिका छ । जबकि नटराजन सुब्रमण्यम, योगी बाबु, राडिन किङ्स्ले, हरिश उमाथन र मन्सुर अली खान स्टारको भूमिकामा देखिएका छन् । कंगुवामा कार्तीको पनि डबल क्यामियो रोल छ ।
फिल्म ३५० करोड भारुभन्दा बढीको बजेटमा बनेको थियाे ।