काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट अवैध लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उपत्यकाभित्रिने यात्रुवाहक सवारीसाधनहरू चेकजाँचका क्रममा मोरङको विराटनगर महानगरपालिका ४ बस्ने ३५ वर्षीय ईन्सु राय र सुनसरीको इटहरी उपमहानगरपालिका ८ बस्ने १९ वर्षीय सुशान्त विश्वाससमेत पाँच जनालाई फरक-फरक बसबाट पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २२९४ नम्बरको बसबाट विराटनगरका रायलाई पक्राउ गरेको थियो ।
त्यस्तै, काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५५६ नम्बरको बसबाट विश्वाससमेत ४ जनालाई पक्राउ गरेको हो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।