प्रधानमन्त्रीले पेकिङ युनिभर्सिटीमा सम्बोधन गर्ने, भ्रमणकाे अन्य कार्यक्रम के ?-Sutra News

प्रधानमन्त्रीले पेकिङ युनिभर्सिटीमा सम्बोधन गर्ने, भ्रमणकाे अन्य कार्यक्रम के ?

शुक्रबार, १४ मंसिर २०८१

शुक्रबार, १४ मंसिर २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयले औपचारिकरूपमा भ्रमण तालिका सार्वजनिक गरेको हो ।



परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओलीले मंसिर १७ देखि २० गतेसम्म भ्रमण गर्नेछन् । चिनियाँ प्रधामन्त्री ली छ्याङले भने प्रधानमन्त्री ओलीलाई मंसिर १७ देखि २१ गतेसम्मको तालिका राखेर भ्रमणको निम्तो पठाएका थिए।

भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग दुई पक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

१७ गते बेइजिङ प्रस्थान गर्ने ओलीले १८ गते राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

साथै, प्रधानमन्त्री ओलीले चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने कार्यसूची छ ।

भ्रमणका बेला प्रधानमन्त्री ओलीले पेकिङ युनिभर्सिटीमा सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ। उनले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

८७ सदस्यीय प्रधानमन्त्रीको भ्रमण टोलीमा ३२ जना सरकारी अधिकारी रहेका छन्। भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीलगायत रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट