काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई)सम्बन्धी सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसबारे सहमति गर्नु पर्ने धारणा राखेकी हुन् ।
उनले भनिन्, “बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ, हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ, यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुनेछ ।”
एक प्रश्नको जवाफमा मन्त्री डा. राणाले अहिले नेपाल ऋण लिने अवस्थामा नरहेकाले चीन सरकारसँग यसै विषयमा छलफल भएको बताए ।
“यो परियोजना अनुदानमा कार्यान्वयन गर्न नेपाली कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ, यो सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई अवगत छ, अनुदानमा नै यो परियोजना कार्यान्वयन गर्न हामीले छलफलहरू गरिरहेका छौँ,” उनले थपिन् ।
आफ्ना चिनियाँ समकक्षीसँग शुक्रबार भएको भेट द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा केन्द्रित रहेको उनको भनाइ थियो ।
दुवै देशमा विद्यमान अवसर र सम्भावनालाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको उनले बताइन् ।
साथै, उनले द्विपक्षीय सम्झौता तथा समझदारीलाई तदारुकताका साथ कार्यान्वयन गर्ने सहमति भएको बताइन् । यो भ्रमणबाट आपसी विश्वास अभिवृद्धि गर्न मद्दत पुगेको उनको दाबी थियो ।
चीन पुगेर फर्किएकी परराष्ट्रमन्त्री राणाले बीआरआईमा दुई देशबीच सहमति गराउन प्रधानमन्त्री ओलीलाई दबाब चीन पुगेकी थिइन् । यसअघि सत्ता पक्षका दुई दल कांग्रेस र एमालेबीच बीआरआईको बारेमा मतभेद रहेको थियो ।