काठमाडौँ । बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका ८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा ४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका ५ बस्ने ५० वर्षीय सञ्चबहादुर लामा र तादी गाउँपालिका १ घर भई काठमाडौँ तारकेश्वर ८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।