काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आइतबार हुन लागेको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले जानकारी दिए ।
गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ थियो ।
आयोगका प्रवक्तासमेत रहेकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने छन् ।
कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
काठमाडौँ महानगर १६, कीर्तिपुर नगरपालिका १ र ४, नुवाकोटको ककनी गाउँपालिका २, मकवानपुरको हेटौँडा उपमहानगर १२, गोरखाको गोरखा नगरपालिका ५, गुल्मीको मुसिकोट नगरपालिका १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १, रोल्पाको रुन्टीगढी गाउँपालिका ४, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।
यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) र रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका २ मा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।
मत परिणाम वेबसाइटमा
मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा संकलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।
आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ ।
मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत संकेत गर्नु पर्छ ।