काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आउँदो आइतबार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । सो प्रणालीको प्रभावका कारण मंसिर २३ गते (आइतबार) साँझ देखि २४ गते (सोमबार) रातिसम्म हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा गण्डकी, वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको जनाएको छ ।
वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले भनेको छ । “वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” विभागले भनेको छ ।