प्रचण्डको दाबी- तीन वटा दल मिल्ने गरी छलफल भएको छ-Sutra News

प्रचण्डको दाबी- तीन वटा दल मिल्ने गरी छलफल भएको छ

शनिबार, २२ मंसिर २०८१

शनिबार, २२ मंसिर २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।



काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएको बताए । तर, केही ढिलो गरी भए पनि शान्ति प्रक्रियाका बाँकी काम राष्ट्रिय सहमतिबाट पूरा हुने उनको भनाइ थियो ।

उनले बामपन्थीलाई एकै ठाउँमा ल्याउनका लागि तीन वटा दलहरुसँग सकारात्मक छलफल भएको जानकारी दिए । अब एकताको विकल्प नभएको बताउँदै उनले मुलुकको परिवर्तनको रक्षा र संविधानको ठिक ढंगले कार्यान्वयनका लागि पनि एकताबद्ध हुनु पर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसदमा पुर्याएको दाबी गरे । तर, यसलाई पारित गराउन फेरि एकपटक जोड दिनु पर्ने उनको भनाइ थियो ।

विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर सशोधित विधेयक संसदको आउँदो अधिवेशनबाट पारित गर्नु पर्ने उनले बताए । यसका लागि शिक्षकहरुले पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही हुने उनको भनाइ थियो ।

एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उनले यसले बृहत एकता र धुव्रीकरणको बाटो फरालिको बनाउने बताए । नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरूको ऐतिहासिक भूमिका रहँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट