विद्रोहीहरूकाे कब्जामा सिरिया, देश छाडेर भागे राष्ट्रपति असद-Sutra News

विद्रोहीहरूकाे कब्जामा सिरिया, देश छाडेर भागे राष्ट्रपति असद

रुसमाथि थप दबाब, विश्वभर बढ्न सक्छ तेलको मूल्य

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडाैं । सिरियाका चार सहर विद्रोही समूहले आफ्नो कब्जामा लिएका छन् भने राष्ट्रपति बसर अल–असदको किल्ला दमास्कस पनि ध्वस्त भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति बसर अल-असद सिरिया छोडेर भागेका छन् ।



उनको परिवार सिरिया छोडेर रुस गएको हुनसक्ने अनुमान गरिएकाे छ । सिरियाली सेनाका दुई शीर्ष अधिकारीहरूले जसबारे दाबी गरेका हुन् ।

सिरियाली प्रधानमन्त्रीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले राष्ट्रपति बसर अल-असद र सिरियाली रक्षामन्त्रीका बारेमा गएरातिदेखि कुनै जानकारी नभएको बताएको छ ।

विद्रोहीहरूले सिरियाली सरकारी टिभी प्रसारणहरू कब्जामा लिएका छन् र आफ्नो सन्देशमा सिरियामा बसर अल-असदको सरकारलाई सत्ताबाट हटाइएको बताएका छन्।

साथै, कैयौं विद्रोही जेलबाट रिहा भएका छन् ।

सिरियामा चलिरहेको गृहयुद्ध वास्तवमा सम्पूर्ण पश्चिम एसियामा प्रभुत्व जमाउने राजनीतिको एउटा हिस्सा हो। सिरियाले इराक, टर्की, जोर्डन, लेबनान र इजरायल जस्ता देशहरूसँग सीमा जोड्छ।

सिरियामाथि प्रभुत्व हुनु भनेको पश्चिम एसियाका महत्वपूर्ण व्यापारिक मार्ग र ऊर्जा कोरिडोरहरूमा पहुँच हुनु हो। जसका कारण सम्पूर्ण पश्चिम एसियामा दबाब पर्न सक्छ ।

सिरियामा बसर अल-असदको सरकारलाई सत्ताबाट हटाउनुले रूसमा सबैभन्दा ठूलो प्रभाव पार्नेछ किनभने सिरिया पश्चिम एसियामा रूसको सबैभन्दा भरपर्दो सहयोगी थियो। विद्रोही समूहलाई अमेरिकाको समर्थन छ ।

सिरियाली गृहयुद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने सम्भावना छ, जसको असर विश्वभर पर्नेछ ।

सिरियामा करिब ५० वर्ष राष्ट्रपति बसर अल-असदको परिवारको शासन थियो र अहिले ५० वर्षपछि सिरियामा यो परिवारको शासन समाप्त भएको छ ।

प्रधानमन्त्रीले विद्रोहीसँग भेटेर नयाँ सरकार बनाउने कुरा पनि गरेका छन् । दमास्कसको सडकमा बाशरको सरकारको पतन भएकोमा ठूलो संख्यामा मानिसहरूले उत्सव मनाइरहेका छन्।

बसर अल-असद सरकार र विद्रोही समूहहरूबीच जारी द्वन्द्वमा हालसम्म पाँच लाखभन्दा बढी मानिस मारिएको दाबी गरिएको छ। साथै, विगत १३ वर्षमा सिरियाबाट करिब ६८ लाख मानिसले देश छोडेका छन् ।

यीमध्ये अधिकांश टर्की र युरोपेली देशहरूमा बसोबास गरिरहेका छन्।

यसअघि पनि सिरियाको ३० प्रतिशत भूभाग विद्रोहीको नियन्त्रणमा थियो तर अहिले अधिकांश भूभाग विद्रोहीको कब्जामा छ । एजेन्सीहरूकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट