जब ४० वटा विद्यालयमा बमको धम्की आयो…-Sutra News

जब ४० वटा विद्यालयमा बमको धम्की आयो…

सोमबार, २४ मंसिर २०८१

सोमबार, २४ मंसिर २०८१

काठमाडौँ । सोमबार बिहान दिल्लीका ४० विद्यालयमा इमेलमार्फत बमको धम्की आएको छ । मिडिया रिपोर्टका अनुसार यसमा मदर मेरी, ब्रिटिश, सलवान पब्लिक, क्याम्ब्रिज स्कुल समावेश छ । सावधानीका रूपमा सबै विद्यालयका बालबालिकालाई घर पठाइएको छ ।



दिल्ली पुलिसका अनुसार बमको धम्कीबारे जानकारी डीपीएस आरके पुरमबाट बिहान ७ बजे प्राप्त भएको थियो । त्यसपछि प्रहरी, डग स्क्वाड, सर्चिङ स्क्वाड र दमकलको टोली त्यहाँ पठाइएको थियो । तर, खोजी गर्दा शंकास्पद केही भेटिएन ।

मेल पठाउनेले बम विष्फोट नगरेको बदलामा ३० हजार अमेरिकी डलर मागेको छ । दिल्लीका विद्यालयमा बमको धम्की आएको यो पहिलो पटक भने होइन । मे २०२४ मा पनि १५० भन्दा बढी विद्यालयमा बम विस्फोटको धम्कीसँग सम्बन्धित इमेलहरू प्राप्त भएका थिए ।

प्रहरीका अनुसार आइतबार राति ११ः३८ बजे धेरै विद्यालयमा यो मेल पठाइएको थियो । मेलमा लेखिएको छ, ‘मैले भवनभित्र धेरै बम राखेको छु, बम साना र धेरै राम्रो लुकाइएको छ, यसले भवनलाई धेरै क्षति पुर्‍याउने छैन, तर विष्फोट भएमा धेरै मानिस घाइते हुनेछन्, ३० हजार अमेरिकी डलर नपाउँदा बम विस्फोट गराउँछु ।’

यसअघि भारतीय विमान कम्पनीमा बमको धम्की दिने आतंक चलेको थियो । यस क्रममा धेरै ठूलो नोक्सान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट