काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसभित्रको किचलो सतहमै छताछुल्ल भएको छ । संस्थापन पक्ष र संस्थापन इतर पक्षबिच चुलिदै गएको किचलो सतहमै आएको छ । पार्टीको आधिकारिक कार्यक्रम बहिष्कार गर्नेदेखि गुटगत भेला सञ्चालन हुनेसम्मका गतिविधि भइरहेको छ ।
कांग्रेसभित्रको असन्तुष्टि प्रतिष्ठाको लडाइँसम्मै पुगेको छ । नेता शेखर कोइरालाले वरीयता नमिलेको भन्दै मंसिर २२ को कोशी प्रदेश सम्मेलन नै बहिष्कार गरे । १४औं महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वरिष्ठ नेताको हैसियतमा वरीयतामा सभापतिपछि राखिने प्रचलन विपरीत केन्द्रीय सदस्यभन्दा पछाडि राखिएकाले बहिष्कार गर्नु परेको कोइरालापक्षका नेताहरूको भनाइ छ ।
१५औं महाधिवेशन आउन साढे एक वर्ष बाँकी रहँदा संस्थापन पक्ष र संस्थापन इतर पक्ष भनेर चिनिएको शेखर कोइराला पक्षबीच स्पष्ट रूपमा दूरी बढेको छ । नेता कोइराला पार्टीको १५ औं महाधिवेशनमा सभापतिका लागि आफूखुसी दौडधुपमा रहेको संस्थापन पक्षका एक नेताले बताए । उनका अनुसार पार्टीले आयोजना गरेका कार्यक्रमहरु बहिष्कार गर्दै पार्टी निर्णय उल्लङ्घन गर्दै हिडेको आरोप कोइरालामाथि छ ।
मंसिर २२ गतेका लागि नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलनको तयारी चलिरहँदा १८ गते नेता शेखर कोइराला पक्षले गृहनगर विराटनगरमा पालिका सभापतिहरूको भेला बोलायो । उक्त भेलालाई संस्थापन पक्षले अवैध मात्र भनेन कोशीका १४ वटै जिल्ला समितिलाई उक्त दिन पार्टीको कुनै पनि कार्यक्रम नभएको पत्र पठायो । तर केन्द्रको निर्देशन अटेर गर्दै कोइराला पक्षले भेला गर्यो । कोशी प्रदेशका एक सय ३७ पालिकामध्ये एक सय १३ सभापति उपस्थित भेलामा नेता कोइरालाले कार्यकर्ताको संरक्षण आफूले गर्ने भन्दै कसैको धाकधम्कीसँग नडराउन आग्रह समेत गरे ।
इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले महाधिवेशनलाई केन्द्रमा राखेर आफ्नो शक्ति परीक्षण गर्न सातै प्रदेशमा पालिका सभापतिहरूको भेला राख्ने तयारी समेत गरेका छन् । यससँगै पार्टीभित्र संस्थापन पक्षबाट निरन्तर पाखा लगाइनु, विभाग तथा विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थामा पनि भने जति भाग नपाउनु लगायत कारणले कोइरालाले कोशी प्रदेश सम्मेलनको काउन्टरमा गृहनगरमा सम्मेलन गरेको बताइएको छ । कोइराला पक्षले महाधिवेशन लक्ष्यित समानतान्तर गतिविधि बढाएसँगै पार्टीभित्रको विवाद झन् बढ्ने देखिन्छ ।
कोइराला पक्षको उक्त भेलाप्रति संस्थापन पक्षले विधान विपरीतको गतिविधि गरेको आरोप लगायो । पार्टीको पत्रको समेत सम्मान नगरेको उल्लेख गर्दै संस्थापन पक्षका नेताहरूले यसले कोइरालालाई नै व्यक्तिगत रूपमा बेफाइदा हुने टिप्पणी गरेका छन् । तर कोइराला पक्ष संस्थापन पक्षको पत्रलाई पार्टीभित्रको तानाशाही प्रवृत्ति भनिरहेको छ। अब सातै प्रदेशमा भेला राख्ने तयारीमा रहेको कोइराला पक्ष पार्टीका तल्ला तहका संरचनाले कार्यक्रम र गतिविधि गर्नु पाउनुपर्ने बताइरहेको छ ।
कोशी प्रदेशमा कृष्ण सिटौला निकट उद्धव थापा सभापति छन् । भेलामा देउवा पक्षका नेताले मात्रै नभई सिटौलादेखि महामन्त्री गगन थापासम्मले शेखर कोइरालाको आलोचना गरेका थिए । सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकमा समेत नेताहरूले शेखर कोइरालाले दिँदै आएको अभिव्यक्तिको आलोचना गरेका थिए । उनीहरूले बाहिर बोल्नुको साटो बैठकमै कुरा राख्न कोइराललाई आग्रह गरे । तर नेता कोइरालाले कुनै प्रतिक्रिया नदिएको एक नेताले बताएका छन् ।
कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सन्तुष्टि वा असन्तुष्टिका विषय पार्टीभित्रै छलफल गरिनु पर्नेमा र आन्तरिक विषयलाई बाहिर छलफल गर्ने विषय बनाउन नहुने बताए ।