काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको छ ।
काठमाडौं जिल्ला अदालतमा साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अभियोगपत्र दायर गरेको हो ।
मङ्सिर ४ मा पक्राउ परेका उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी लिएको छ ।
दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको बताइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै उनी पक्राउ परेका हुन् ।
मेडिकल व्यवसायी प्रसाईँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई उनले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।