

विराटनगर- मोरङमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर-९ गुद्री र रंगेली-८ का पुरुष छन्। दुवैजना ४५ वर्षीय हुन्। योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।
स्वासप्रश्वासको समस्या भएका विराटनगरका पुरुषको कोसी अस्पतालमा र रंगेलीका पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताए।
स्वाब परीक्षणका क्रममा उनीहरुमा कोभिड-१९ पोजिटिभ देखिएको हो। यसअघि मोरङमा विरनटनगर-५ का वृद्ध र सुनवर्षीका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
त्यस्तै काठमाडौंमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन्।