Logo

आइतवार, कार्तिक ९ गते २०७७

बढेको छैन लकडाउन अवधिमा आत्महत्या

बढेको छैन लकडाउन अवधिमा आत्महत्या

अनिल यादव

२२ श्रावण २०७७
  • 800
    SHARES
  • बढेको छैन लकडाउन अवधिमा आत्महत्या
    आत्महत्याको सांकेतिक तस्बिर । तस्बिर: एजेन्सी

    काठमाडौं–०७६ चैतयता धेरै मिडियाले समाचार लेखे, ‘लकडाउनका कारण आत्महत्या बढ्यो ।’ लकडाउनका कारण घरभित्रै थुनिएर रहनुपर्दा तनाव बढ्न सक्ने, लकडाउनका कारण रोजगारी गुम्दा आर्थिक समस्या सिर्जना हुने र त्यसले तनाव–चिन्ता बढाउने, त्यो चिन्ताले डिप्रेसनमा पुर्याउने र डिप्रेसनको राम्रोसँग उपचार गराउन नसक्दा र हस्पिटलमा जान सक्ने अवस्था समेत नहुँदा मानिसहरु आत्महत्याको स्थितिसम्म पुग्न सक्छन् भन्ने समाचार सामाग्री विश्वभरका सञ्चारमाध्यमले प्रकाशित–प्रसारित गरे ।

    त्यसो त, लकडाउनमा देखिएका आत्महत्याका केही दृश्यले यसमा बल पनि पुर्यायो । जस्तो कि, अर्घाखाँची र बझाङमा क्वारेन्टिनमै बस्दै आएका पुरुषले आत्महत्या गरे । कोरोना परीक्षण गराउँदा परिणाम पोजिटिभ आएपछि अर्घाखाँचीका ४३ वर्षीय दुवबहादुर विकले जेठ दोस्रो साता क्वारेन्टिननजिकै झुण्डिएर आत्महत्या गरेका थिए । उनी जेठ १४ गते भारतको पञ्जाबबाट आएर स्थानीय हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

    त्यस्तै,बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ मजखोरी माविमा क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकले पनि क्वारेन्टिनमै आत्महत्याको निर्णय गरे । क्वारेन्टिन क्षेत्रमा कोही पनि प्रवेश नगरुन् भन्ने उद्देश्यका साथ त्यहाँ एउटा डोरीको बार हालिएको थियो । तर, त्यही डोरीको सहयोगमा ती युवाले झुण्डिएर आत्महत्या गरे । क्वारेन्टिनमा बस्नु तीन दिनअघि मात्रै उनी भारतको बेंग्लोरबाट नेपाल फर्किएका थिए ।

    त्यस्तै अछामको बयलपाटा अस्पतालमा कार्यरत कर्मचारी सिद्धार्थ आउजीले आफू कामबाट निकालिएपछि शरीरमा पेट्रोल छर्केर आफैलाई जलाएर आत्महत्याको बाटो रोजेका थिए । अस्पतालले आर्थिक संकटको कारण देखाउँदै ३३ जना कर्मचारीलाई जागिरबाट हटाएपछि उनले यस्ता निर्णय गरे ।

    लकडाउन अवधिमा भएका आत्महत्याका यी उदाहरणले लकडाउनमा आत्महत्या बढेजस्तो देखिएपनि नेपाल प्रहरीको तथ्यांक केलाउँदा के देखिन्छ भने, पछिल्ला वर्षहरुको तुलनामा यो आर्थिक वर्ष आत्महत्या घटेको छ । ‘कुनै महिना अलिकति बढेको हुनसक्छ तर समग्रमा घटेकै देखिन्छ,’ नेपाल प्रहरीका तत्कालीन प्रहरी प्रवत्ता तथा हालः एआइजीमा बढुवा भएका निरज शाही भन्छन्, ‘बाहिर खबरमा आएजस्तो आत्महत्याको दर बढेकै छैन । यस्तो समाचार लेख्ने मान्छेलाई हामी रोक्न त सक्दैनौँ, तर हामीले बढेको छैन भनिरहेकै छौँ ।’

    झन् देशबाहिर गएका मानिसहरु लकडाउनका बेला स्वदेश फर्के, त्यति हुँदाहुँदै पनि आत्महत्याको दर घटेको कुरा केही समयपछि विज्ञप्ति निकालेरै आधिकारिक रुपमा भन्ने योजनामा छ, प्रहरी मुख्यालय ।

    तथ्याङ्कले यसो भन्छ

    प्रहरी मुख्यालयले तयार पारेको ३ वर्षयताको तथ्याङ्क केलाउँदा आत्महत्याको संख्यामा निकै कमी आएको देखिन्छ । तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष आत्महत्या गर्नेको संख्या ५ सय ९० जनाले कमी छ । आर्थिक वर्ष ०७४/०७५ मा कुल आत्महत्याको संख्या ५ हजार ३ सय ४६ थियो । आव ०७५/०७६ मा आइपुग्दा यो संख्या बढेर ५ हजार ७

    सय ८५ मा पुगेको थियो । तर, ०७६/०७७ को आत्महत्या संख्या यी दुवै आर्थिक वर्षभन्दा पनि कम छ, अर्थात् ५ हजार १ सय ९५ छ । धेरैले लकडाउनमा आत्महत्या बढेको चर्चा गरिरहँदा लकडाउन भएका महिनाहरु चैत ०७६ वैशाख र जेठ ०७७ लाई अघिल्लो वर्षसँग तुलना गर्दा पनि आत्महत्या संख्यामा कमी नै पाइन्छ । जस्तो कि, प्रहरी तथ्यांकअनुसार ७५/०७६ को चैतमा कुल आत्महत्या संख्या ४ सय ६७ थियो । लकडाउन सुरु भएको महिना अथवा गत चैतमा यो संख्या बढेर ४ सय ८३ पुग्यो ।

    अघिल्लो वर्षको तुलनामा चैतमा १५ जनाले बढी देखिएको आत्महत्या संख्या लकडाउन भएकै बेला वैशाख र जेठमा भने घट्न पुग्यो । तथ्याङ्कअनुसार अघिल्लो वर्षको वैशाख र जेठमा ६–६ सय जनाले आत्महत्या गरेका थिए । तर, गत वैशाखमा त्यो संख्या ५ सय ७९ मा झरेको छ भने जेठमा ५ सय ८६ पुगेको छ । एआइजी शाहीले भनेजस्तै संख्यामा थोरै तलमाथि देखिएपनि समग्रमा अरु वर्षहरुसँग तुलना गर्दा आत्महत्या संख्या बढेको देखिँदैन, बरु घटिरहेको देखिन्छ ।

    ‘विश्वभर लकडाउनले मानसिक स्वास्थ्यको समस्या बढाउने र त्यसकारण आत्महत्या बढ्ने अनुमान छ,’ मनोचिकित्सक डा.कपिलदेव उपाध्याय भन्छन्, ‘तर, तथ्याङ्कले हामीकहाँ बढेको देखाउँदैन भने त्यो त सुःखद पक्ष हो । संकटका बेला आत्महत्या कम हुन्छ भन्ने मान्यता पनि छ । चाहे त्यो युद्धका बेला होस् या देशमा अरु कुनै संकटका बेला, त्यतिबेला मान्छेप्रति देशभक्ति या समाजसेवाको भावना हुन्छ, जसले तत्काल आत्महत्या गरिहालौँ भन्ने भावनालाई रोक्छ ।’

    आत्महत्या खबरले पार्ने प्रभाव

    आत्महत्या बढ्यो भन्दै त्यसलाई ‘हट न्यूज’ बनाउँदा, ‘फ्रन्ट पेज’ मा राखेर ‘हाइलाइट’ गर्दा त्यसले डिप्रेसनमा गएका मान्छेहरुमाथि झन् नकरात्मक प्रभाव पार्ने मनोचिकित्सक उपाध्यायको विश्लेषण छ । ‘यस्तो खबरले सुसाइड गरौँ कि नगरौँ भनेर दोधारमा परेको मान्छेलाई ‘ल गरिहालौँ, त्यसले त गरेछ, म किन पछि पर्नु’ भन्ने भावना पैदा गर्न सक्छ,’ उनले भने, ‘जसकारण उसले तत्काल आत्महत्याको बाटो रोज्न सक्छ । त्यसैले मिडियाले आत्महत्याकै समाचार लेख्दा पनि रचनात्मक ढंगले ‘पोजिटिभ भाइब्स’ आउने गरी दिएको राम्रो ।’

    कारण खोज्दैन प्रहरी

    नेपालमा प्रहरीले विष खाएर, आगो लगाएर, झुण्डिएर, औजार हातहतियारको प्रयोग गरेर, हाम फालेर या डुबेर आत्महत्या गर्नेहरुको सूची त बनाउँछ । तर उनीहरुलाई के–कारणले आत्महत्या गर्न प्रेरित गरिरहेको छ, त्यसको अध्ययन–अनुसन्धान गरेको पाइँदैन । ‘कारण त हामीले खोज्या’ छैनौँ । तर सैद्धान्तिक रुपमा पढ्दाखेरी विश्वभर यसको कारण व्यक्तिगत, पारिवारिक र सामाजिक नै मानिन्छ,’ एआइजी शाहीले भने ।

    मनोचिकित्सक डा.उपाध्याय भने प्रहरीले कारण खोज्नुपर्ने बताउँछन् । ‘सम्भावित कारण के हो, त्यो पनि खोज्नुपर्छ,’ उनी प्रहरीलाई सुझाव दिन्छन्, ‘किन ‘सुसाइड’ गरिएको थियो, त्यो अनुसन्धानको पाटो हुनुपर्छ । यसले आत्महत्या घटाउन मद्दत गथ्र्यो ।’

    उपाध्यायका अनुसार मान्छे निराशाको बाटो हुँदै आत्महत्यासम्म नपुग्ने अर्को उपाय भनेको जीवन जिउने कला सिक्नु नै हो । ‘कसरी जीन्दगी बाँच्नुपर्छ, मान्छेले त्यो ‘लाइफ स्केच’ चाहिँ जान्नुपर्छ भन्ने लाग्छ,’ उनी भन्छन्, ‘त्यसका लागि पहिले त जीवन के हो, त्यसको महत्व के हो, जन्मेर मर्ने बेलासम्म जीवन कसरी बिताउनुपर्छ भन्ने विषयमा जानकारी लिनुपर्छ । मान्छे सामान्य जीवनमा सन्तुष्ट हुन सिक्यो भने सायद कहिल्यै दुःखी हुनु पर्दैन ।’


    प्रकाशित :श्रावण २२, २०७७ बिहिवार - १२:५९:२९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.