बैतडीमा मदिरा सेवन र बिक्री गर्नेलाई जरिवाना-Sutra News

बैतडीमा मदिरा सेवन र बिक्री गर्नेलाई जरिवाना

शनिबार, २४ साउन २०७७

शनिबार, २४ साउन २०७७

काठमाडौं– बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।

पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । मदिरा नियन्त्रण समितिको बैठकले गाउँमा मदिराका कारण विभिन्न खालका समस्या सिर्जना भएकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाएको हो ।

समितिकोे निर्णय विपरीत कसैले मदिरा बिक्री गरेको पाइएमा १० हजार जरिवाना गरिने निर्णय भएको स्थानीय अर्जुन लुहारले जानकारी दिए । यस्तै मदिरा सेवन गर्ने र ओसारपोसार गर्नेलाई रु ५ हजार जरिवाना गर्ने निर्णय भएको छ ।

मदिराका कारण समाजमा विभिन्न खालका हिंसाका घटना भइरहेकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाइएको मदिरा नियन्त्रण समितिका राजेन्द्र धामीले जानकारी दिए । यसका साथै जिल्लाको डिलाशैनी गाउँपालिका–७ को मनेकुडा टोलमा पनि मदिरा र जुवातासमा रोक लगाइएको छ ।

बेतालेश्वर युवा क्लबमा आबद्ध युवाले गाउँमा जुवातास र रक्सी प्रतिबन्ध गरेको स्थानीय सागर ऐरले जानकारी दिए । वडासदस्य लक्ष्मणबहादुर ऐरको उपस्थितिमा बसेको बैठकले वडाभित्र मदिरा बिक्री वितरण गरेमा रु पाँच हजार ५५५ जरिवाना गर्ने निर्णय गरेको छ ।

यस्तै मदिरा सेवन गरी होहल्ला गरेमा रु २ हजार ६ सय, मदिरा ओसारपोसार गरेमा रु २ हजार जरिवाना लिने निर्णय गरेको युवा क्लबका अध्यक्ष कम्मान ऐरले जानकारी दिए ।

यस्तै कसैले जुवातास खेलाएमा रु एक हजार ५ सय र जुवातास खेलेमा १ हजार जरिवाना गर्ने निर्णयसमेत भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट