

जाँघे कट्टु, पुरानो स्टकोट र मैलो टीसर्ट।
बिहान नाम्लो बोकेर डेराबाट निस्कन्छ ऊ। हुलिया भरियाको छ। र, ऊ भरिया नै हो। उसका वृद्ध उमेरको साथी छ, जसलाई देख्दा लाग्छ- बुढो उमेरमा पनि ऊ अभिशप्त छ भारी बोक्न।
लकडाउनको बेला कीर्तिपुरको सडकमा एकजना भरियाले ज्यान गुमाए। ती थिए सूर्य बहादुर तामाङ। लकडाउनले रोजगार खोसेको उनी मर्दासम्म कसैको नजरमा परेनन्।
बजारमा हालै सार्वजनिक भएको गीत ‘डर छैन’को दृश्यले उनै तामाङको सम्झना गराउँछ।
दृश्य कथामा ती वृद्ध पात्र (लोकमणि सापकोटा)को लास बेवारिसे देखाइएको छ। लासलाई हेर्नेहरु रमिते बनेका छन्, जबकि उनीहरु कसैमा पनि संवेदना छैनझैँ लाग्छ। तर, त्यही भिडबाट चियाउँदा आफ्नै साथीको लास देखेर मुर्छित अर्का अधवैंश पात्र (भरिया) आफ्नो वियोगको वेदना प्रकटसम्म गर्न सक्दैनन्।
गीतको अन्तराहरुले भावुक बनाए उनलाई। उनले लकडाउनले जागिर गुमेका मजदुरहरुलाई सम्झिए। बेवारिसे भएर ज्यान गुमाएका तामाङलाई सम्झिए। कोरोनाले निम्त्याएको लकडाउनले थपेको गरिबहरुको दुर्दशा सम्झिए।
निकेश खड्काले निर्देशन गरेको उक्त दृश्य कथामा आम मजदुरको भूमिका निभाएका छन् कलाकार विपीन कार्कीले। नेपाली फिल्म उद्योगमा चरित्र अभिनयबाट ख्याति कमाएका विपीन ‘डर छैन’को भरिया पात्रमा तारिफयोग्य छन्। नारायण गौतमको शब्द र सन्तोष लामाको आवाज रहेको गीतले भन्छ-
‘केही पनि छैन मसँग, त्यसैले गुमाउने डर छैन
तिमीले झैँ भाग खोसी अरुको, कमाउने रहर छैन
धेरै छन् संसारमा धर्ती ओछ्याइ आकाश ओढ्नेहरु
खुसी नै देख्छु म ती सबै, जोसँग घर छाउने खर छैन’
विपीनले तिनै आम भरियाको मनोविज्ञान र चरित्रचित्रण गरेका छन् भिडियोमा। उनको अनुहारमा छिन–छिनमा परिवर्तन भइरहने भावभंगीले ज्यालादारीमा काम गर्ने मजदुरको मनोदशा प्रष्ट पार्छ। भरियापात्र र बाल मजदुरमाथिको अन्तरप्रेमले भरियाहरुको कोमल संवेदनालाई खोतलेको छ।
दृश्य कथासँगै हरि लम्सालको संगीतले पनि जो कोहीलाई द्रविभूत बनाउँछ।
कथाको रहस्य
भिडियो सार्वजनिक भएपछि विपीनलाई व्यापक प्रतिक्रिया आइरहेका छन्- ठूलो पर्दामा मात्र हैन, सानो पर्दामा पनि सुहाउने रहेछन् विपीन।
प्रतिक्रिया पाउँदै गएपछि लकडाउको ‘फ्रस्टेसन’ पातलिँदै गएको छ उनमा। लकडाउने उनिभित्रको कलाकारितालाई उकुसमुकुस बनाइरहेको थियो। चार दिवारभित्र थुनिरहनु पर्दा पीडा महशुस भइरहेको थियो।
‘फिल्मको तयारी गर्दागर्दै लकडाउन भइदियो। केही गर्न पाइरहेको थिएन। मनोरोग पलाउने खालका सोच आइरहेको थियो,’ उनी सम्झन्छन्, ‘कहिलेदेखि मैदानमा गएर काम गरुँ भन्ने छट्पटीले गाँजिरहेको थियो।’
एकदिन निर्देशक निकेशले उनलाई प्रस्ताव गरे म्युजिक भिडियोको लागि। विपीनलाई छट्पटी दूर गराउनु थियो। निकेशलाई भने- गीत पठाऊ न सुनौं।
त्यसपछि निकेशले गीत पठाए। विपीनले सुने।
गीतको अन्तराहरुले भावुक बनाए उनलाई। उनले लकडाउनले जागिर गुमेका मजदुरहरुलाई सम्झिए। बेवारिसे भएर ज्यान गुमाएका तामाङलाई सम्झिए। कोरोनाले निम्त्याएको लकडाउनले थपेको गरिबहरुको दुर्दशा सम्झिए। त्यसपछि राजी भए भिडियोमा काम गर्न।
‘यस्तो बेलामा कलाकारले गर्ने सहयोग भनेको पनि सिर्जनात्मक काम हो जस्तो लाग्छ। मैले त्यही कुरा आम मानिसको मनोदशको रुपमा प्रस्तुत गर्न खोजेको हुँ,’ उनी भन्छन्।
उनले निकेशलाई भने- तिम्रो कन्सेप्ट के छ यसमा?
निकेशले आफ्नो कन्सेप्ट बताए। तर, विपीनले गीत सुन्दा आफूलाई भरिया पात्रमा उभ्याइसकेका थिए। ‘निकेशले अर्कै कुनै पात्रबारे सुनाएका थिए। पात्र रोचक त थियो। तर अहिलेको सन्दर्भ जोड्दा राम्रो हुन्छजस्तो लाग्यो, अनि भरिया पात्रमाथि नै गरियो,’ विपीनले भिडियोको अन्तरकथाबारे सुनाए।
भरियाको पात्रमा अभिनय गर्न विपीनलाई उस्तो चुनौति थिएन। कारण, उनले पहिले नै नाटकहरुमा यो पात्रको चरित्र निर्वाह गरिसकेका थिए।
‘मेरो लागि त्यो अनौठो पात्र थिएन। मैले पहिले पनि नाटकमा त्यो क्यारेक्टर गरेको थिएँ। त्यतिबेलाको अनुसन्धान अध्ययनले र त्यो बेलाको पात्रले मलाई सहयोग गर्यो, ’ विपीन सम्झन्छन्, ‘त्यसमाथि यो पात्र सधैं भेटिइरहने पात्र पनि थिए।’
९ मिनेट ३७ सेकेण्को भिडियोमा विपीन र लोकमणिले निभाएको चरित्र भरियाहरुको वास्तविक कथा भएको उनी बताउँछन्। त्यसमा उदाहरण थप्छन् विपीन, ‘लकडाउनकै बीचमा सुनेको र देखेको पनि हुँ। एक मजदुरले ग्यास सकिँदा चामलमा पानी भिजाएर काँचै खाएको कुरा।’
भुइँपात्रहरुको दुर्दशा अर्थात् बाध्यात्मक अवस्था, भिडियोमा पनि समेटिएको छ। जुन आफूले प्रतिबिम्बको रुपमा प्रयोग गरेको विपीन बताउँछन्।
‘यस्तो बेलामा कलाकारले गर्ने सहयोग भनेको पनि सिर्जनात्मक काम हो जस्तो लाग्छ। मैले त्यही कुरा आम मानिसको मनोदशको रुपमा प्रस्तुत गर्न खोजेको हुँ,’ उनी भन्छन्।
भिडियो हेर्नुस्: