फुटबल खेलाडीको कोरोना परीक्षण गरिंदै-Sutra News

फुटबल खेलाडीको कोरोना परीक्षण गरिंदै

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं–नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ। कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ।

खेलाडीको पीसीआर परीक्षण सोमबार र मंगलबार गरिने अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए। विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल पुरुष ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ। खेलाडीसँगै प्रशिक्षक,पदाधिकारी र एन्फा होस्टलका कर्मचारीको पनि कोरोना परीक्षण गरिने राईले बताए। ‘खेलाडीको पीसीआर परीक्षण गर्न दुई दिन लाग्नेछ’,उनले भने। परीक्षणको नतिजा आएपछि प्रशिक्षण अगाडि बढ्नेछ।

सरकारले आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न सकिने निर्णय गरेपछि एन्फाले प्रशिक्षणको तयारी थालेको हो। फिफा र विश्व स्वास्थ्य संगठन साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ। कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासंघ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ। स्थगित भएका खेल आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ। नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ। समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा नेपाल पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट