![डेढ सय वर्षदेखि चलिरहेको राम भण्डार, जहाँबाट जंगबहादुरले मिठाइ मगाउँथे [भिडियो]](https://sp-ao.shortpixel.ai/client/to_auto,q_glossy,ret_img,w_1200,h_675/https://sutranews.com/wp-content/uploads/2020/08/1597231731-qUVjl.jpg)
![डेढ सय वर्षदेखि चलिरहेको राम भण्डार, जहाँबाट जंगबहादुरले मिठाइ मगाउँथे [भिडियो]](https://sp-ao.shortpixel.ai/client/to_auto,q_glossy,ret_img/https://sutranews.com/wp-content/uploads/2020/08/1597231731-qUVjl.jpg)
काठमाडौं- सन् १८४८ भन्दाअघि दिवाकर राजकर्णिकारका जीजुबाजे राणाहरुको दरबारमा मिठाइ बनाएर बस्थे। दरबारमा उनी केही वर्ष मिठाइ बनाएर बसे। दरबारमामात्र काम गरेर उनले परिवारको छाक टार्न सकेनन्। र, उनले राणाहरुसामु विन्ती विसाए- सरकार अब दरबारमा मात्र सीमित नभएर बाहिर पनि पसल खोल्ने चाहना छ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले उनको प्रस्तावलाई स्वीकृतिमात्र दिएनन्, थापाथलीस्थित प्रस्तुगृह जाने मोडको पौवामा मिठाइ पसल खोल्न जग्गासमेत दिए। कर्णिकारका जीजुबाजेले पसलको नाम जुराए- राम भण्डार।
त्यतिबेला काठमाडौंमा विरलै पसल हुन्थे। झन् मिठाइ पसल भनेपछि काठमाडौंबासीलाई अनौठो लाग्थ्यो। त्यही भएरर पसलमा मान्छेहरु विरलै जान्थे। काठमाडौंबासीलाई उक्त मिठाइ पसल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ सावित भएको थियो। किनकि त्यतिबेलाका जनताहरु अति विपन्न वर्गका हुन्थे। तर डेढ सय वर्षसम्म यो मिठाइ पसल जीवितै रहेको कुरा आम मानिस अनौठो मान्ने गर्छन्।
भिडियो हेर्नस्:
पसलको नाम पछाडिको आफ्नै कथा छ। दिवाकरका अनुसार राम उनीहरुको पुस्ताका कुनै पनि सदस्यको नाम होइन्। ‘पसलमा आउनेले राम तपाईँको को हो भनेर सोध्छन्। तर, राम भगवानको नाम हो। त्यसकै आधारमा पसलको नाम राखिएको हो,’ उनी भन्छन्।
राम भण्डारको आधिकारिक लोगोमा पनि भगवान रामलाई संकेत गर्न धनुषको प्रयोग गरिएको छ। अहिले राम भण्डारमा आधुनिकदेखि परम्परागत मिठाइको परिकार उपलब्ध छन्। स्वदेशी र विदेशीसहित परम्परागत मिठाइका परिकारहरु राम भण्डारमा उपलब्ध छन्।
राम भण्डारले अहिले घरमा डेलिभरी पनि दिइरहेको छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र फोनबाट अर्डर लिइरहेको छ राम भण्डारले। दिवाकर भन्छन्, ‘थापाथली क्षेत्रमा फ्रि डेलिभरी गरेका छौं। योभन्दा बाहिर गएपछि दूरीअनुसार डेलिभरी चार्ज लिने गरेका छौं।’
अहिलेका सञ्चालक दिवाकर राजकर्णिकार चौथो पुस्ताका हुन्।