चितवन–पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
राप्ती नगरपालिका–८ ससुराली घर बस्दै आएका गुरुङ खोलामा बेहोस अवस्थामा देखेपछि उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो। उनको उपचारका क्रममा साँझ ५ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
पुलबाट हाम फाल्दा एक जनाको मृत्यु
प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ। प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ ।
मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको शव प्युठान नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ ।