काठमाडौं–कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गरिएको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवत-जावतसमेत बन्द गराएपछि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो।
काठमाडौं भित्रने मुख्य नाका नागढुंगासहित साँगा, फर्पिङ, ककनी, टोखा, साँखु क्षेत्र हुँदै उपत्यका बाहिरबाट आउनेहरूलाई प्रहरीले सुरु बिन्दुमा नै रोक्न सुरु गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कुनै पनि बहानामा काठमाडौं उपत्यका भित्रन नपाइने गरी उपत्यका प्रवेशमा कडाइ गरिएको बताए। एम्बुलेन्स तथा बिरामी लिएर आउने सवारी साधन, सुरक्षा तथा स्वास्थ्यतर्फका सवारी, अत्यावश्यक दैनिक उपभोग्न ढुवानी गर्ने साधनलाई भने प्रवेशमा रोक नलगाइने ढकालले जानकारी दिए ।
उपत्यका भित्रने मुख्य नाका नागढुंगा र साँगाबाट गरी शनिबार २ सय ५५ जना यात्रु फिर्ता पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। शुक्रबारसमेत एक सय बढी सवारी साधन फिर्ता पठाइएको महाशाखाले जनाएको थियो।